पदमलाई एक्स पिएनसी हङकङको सहयोग

समाधान संवाददाता २०७५ चैत १४ गते १८:५५

पोखरा, १४ चैत
४१/४२ सालतिर पदमबहादुर नेपाली पृथ्वीनारायण क्याम्पसमा पढ्थे । गीत गाउँथे । क्याम्पसबाहिर पनि जनसांस्कृतिक मञ्चको अभियान लिएर प्रगतिका भाका हाल्थे । दौंतरीहरुसँग खुब मिल्थे । एकदिन तिनै पदमबहादुर रातिराति क्याम्पसको होस्टल आइपुगे । कथित तल्लो जातको भएको भन्दै घरधनीले डेराबाट निकालिएका उनलाई होस्टलमै साथीहरुले सेल्टर दिएका थिए ।


उनै पदमबहादुरलाई ६० सालमा टाउकोमा स्ट्रोक भयो । १८ दिन अस्पतालमै बेहोस भए । अलि तंग्रिएर जीवन रथ अघि बढाउँदै थिए भूकम्पले घर ढलाइदियो । ढोरफिर्दी तनहुँका तिनै पदमलाई पृथ्वीनारायण क्याम्पसका ऊबेलाका सहपाठीले घर ठड्याउन मद्दत गरे ।

सहपाठी महेन्द्र गुरुङ भन्छन्, ‘ऊ मर्छ तर हात फैलाउँदैन भनिन्थ्यो, सहयोगका लागि पनि हामीले कर गरेपछि मात्रै बोल्न थाल्यो ।’ अस्थायी शिक्षकको जागिरमा झुन्डिरहेका पदमको स्वास्थ्यस्थितिकै कारण अरु आर्थिक भार थेग्न र परिवार पाल्न कठिन भइरहेको पनि महेन्द्रले सुनाए । पृनाकै ‘अ ड्रप अफ स्माइल’ सञ्जालका सदस्यहरुको आग्रहमा एक्सपिएनसी हङकङले पदमका लागि सहयोग जुटाएर ल्याएको छ । १ लाख ८५ हजार रुपैयाँ नगद कोसेली बोकेर एक्सपिएनसी हङकङका अध्यक्ष विरोधविक्रम गुरुङ पोखरा आइपुगे ।

Advertisement

प्रतिनिधि सभाका सांसद पदम गिरी, गण्डकी प्रदेश सभाकी सदस्य मीना गुरुङले उक्त सहयोग रकम बिहीबार पदमबहादुर नेपालीलाई हस्तान्तरण गरे । नेपालीले हङकङको उक्त सहयोग पाएर आफू शब्दविहीन भएको बताए । एक्सपिएनसी हङकङका अध्यक्ष गुरुङले नेपालीको जीवनको यात्रामा अझै हिम्मत थपिन्छ होला भनेर सहयोग जुटाएको सुनाए । उनले भने, ‘अप्ठेरोमा परेकालाई हातेमालो गर्दा जीवन सार्थक होला भन्ने ठानेका छौं ।’ सांसद पदम गिरीले पदमबहादुर नेपालीको नाम कहिल्यै नभुल्ने र फोनको प्रतीक्षा गर्ने बताए । उनले भने, ‘यो नगद सहयोग तपाईं स्वस्थ रहनोस् र सतायु बाँच्नोस् भन्ने शुभकामना हो ।’

Advertisement

तपाईको प्रतिक्रिया