विप्लवको आपराधिक क्रियाकलाप नियन्त्रणमा आपत्ति छैनः पुर्वमन्त्री अर्जुन नरसिंह केसी

समाधान संवाददाता
पोखरा
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आपराधिक गतिविधिलाई सरकारले नियन्त्रण गरेकोमा कांग्रेसलाई कुनै आपत्ति नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले पार्टीलाई नै प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गरे । ‘विप्लव समूहसँग वार्ता र संवाद गरी सहमतिमा ल्याउन पर्छ,’ नेता केसीले भने, ‘प्रतिबन्ध लगाउने सरकारको हतारको निर्णयले मुलुक नयाँ द्वन्द्वमा फस्न सक्छ ।’ जनताको जीवन, स्वतन्त्रता र सम्मानको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नेता केसीले कानुन विपरीत कामलाई नियन्त्रण गर्ने काम सरकारको दायित्वभित्र पर्ने बताए ।
फरक प्रसंगमा नेता केसीले विखण्डनकारी सिके राउतलाई महत्व दिएर सरकारले गरेको सम्झौता स्पष्ट नभएको दाबी गरे । राजनीतिको मुल धारमा आएको भए अहिले पनि स्वागत गर्न सक्ने उल्लेख गर्दै नेता केसीले सिके राउत नाटकीय रुपमा छुट्ने र नाटकीय रुपमा सम्झौता भएको आरोप लगाए । नेता केसीले सिके राउतसँग भएको सम्झौता या सच्याउन पर्ने या राउतलाई कारबाही गर्नुपर्ने तर्क गरे ।
नेता केसीले सिके राउतसँगको सम्झौता र विप्लवलाई प्रतिबन्ध लगाउने सबालमा सरकारले अपरिपक्व व्यवहार प्रस्तुत गरेको आरोप लगाए । नेता केसीले प्रतिपक्षी दल नेपाली कांग्रेससंँग समन्वय नभएको र सत्तारुढ दलमा समेत परामर्श नभएको सार्वजनिक भएको उल्लेख गरे । सिके राउतसँग भएको सम्झौता व्यावहारिक रुपमा परिणत हुन पर्ने उल्लेख गर्दै नेता केसीले त्यसबारे अझै पनि सरकारलाई केही समय मौका दिनुपर्ने बताए ।
सरकारको १ वर्षको अवधि काण्डै काण्डले विभूषित भएको आरोप लगाउँदै नेता केसीले विप्लवले बन्दुकको आडमा र सरकारले सत्ताको आडमा लुटेको दाबी गरे । भ्रष्टाचार सबभन्दा ठूलो समस्याको रुपमा रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा कुन पार्टीको कुन नेता पर्छ भन्ने सबाल गौण भएको बताए ।
संघीय सरकारले संघीयताको सारभूत सिद्धान्त विपरीत अधिकारलाई विकेन्द्रीकरण नगरेको नेता केसीको दाबी छ । सर्वसत्तावादको चुनौती रहेको दाबी गर्दै उनले लोकतन्त्रको रक्षा, भ्रष्टाचारको नियन्त्रण र राष्ट्रिय अखण्डताको रक्षाको लागि कांग्रेस सक्रियतापूर्वक लाग्ने जानकारी दिए । नेपाली कांग्रेसमा नीतिगत तथा संस्थागत रुपमा अपारदर्शिता रहेको उल्लेख गर्दै नेता केसीले त्यसलाई सुधारको लागि आन्तरिक रुपमा संघर्ष गर्नुपर्ने खाँचो औंल्याए ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले बोलेका थिए ।
तपाईको प्रतिक्रिया