फाइभ–जी प्रविधिबाट ३ हजार किमी टाढाका बिरामीको शल्यक्रिया

समाधान संवाददाता २०७५ चैत ७ गते १२:५४

चीनमा पहिलोपटक एक चिकित्सकले सफलतापूर्वक फाइभ–जी प्रविधिमार्फत ३ हजार किलोमिटर टाढा रहेका बिरामीको रिमोट सर्जरी गरेको डेलीमेलले जनाएको छ ।

Advertisement

पार्किन्सन्स रोग भएका सो बिरामीको मस्तिष्कमा डाक्टरले तीन हजार किमी टाढाबाट रिमोटको मद्दतले ‘डिप ब्रेन स्टिम्युलेसन (डिबीएस) इम्प्लान्ट’ अर्थात दिमागी झट्का नियन्त्रण गरी शान्त पार्ने उपकरण प्रत्यारोपण गरेको संचार एजेन्सी डेलीमेलले जनाएको छ ।

बेइजिङसिथत पिपुल्स लिबरेसन आर्मी जेनेरल हस्पिटलका सर्जन डाक्टर लिङ जिपेइले गरेको सो शल्यक्रियाबारे चिनियाँ राष्ट्रिय संचार सिजिटिएनले खबर गरेको हो । डाक्टर लिङका अनुसार यस नयाँ प्रविधिमार्फत गरिएको रिमोट सर्जरीले ग्रामीण क्षेत्रका बिरामीको उपचारलाई धेरै सहज बनाइदिनेछ ।

सर्जिकल रोबोटको मद्दतबाट लिङले मस्तिष्कको गहिराइमा स्टीमुलेसन प्रत्यारोपण गरेको बताइएको छ जसले पार्किन्सन्सका बिरामीलाई पूर्ण रुपमा निको पार्न नसकेपनि धेरै राहत दिलाउन सक्ने बताइन्छ । शनिबार गरिएको सो शल्यक्रिया तीन घण्टामा सम्पन्न भएको बताइएको छ । सर्जरीपछि बिरामीले आफूलाई आराम महसुस भएको समेत बताएका थिए । डाक्टर लिङले आफू बसेको ठाउँबाट मोबाइल इन्टरनेटको मद्दतले प्रत्यक्ष रुपमा तीन हजार किमी टाढाका उपकरण नियन्त्रण र सञ्चालन गरि शल्यक्रिया गरेको बताइएको छ ।

यसका लागि हुवावेको फाइभ–जी प्रविधि र चाइना मोबाइल नेटवर्कको प्रयोग गरिएको जानकारी दिइएको छ । यो सफलताले चिनियाँ प्राविधि तथा चिकित्सा क्षेत्रलाई ऐतिहासिक उपलब्धि दिलाएको बताइएको छ ।

Advertisement

डाक्टर लिङ त्यसबेला हैनन टापुस्थित सान्या सहरमा थिए भने शल्यक्रिया उत्तरतर्फ बेइजिङमा भएको हो । उनका अनुसार फाइभ–जी प्रविधिले भिडियो लोड नहुने र रिमोट कन्ट्रोलमा ढिलाइ हुने समस्या समाधान गरेकाले नै सो शल्यक्रिया सम्भव भएको हो । यस्तोमा शल्यक्रिया गर्दैगर्दा बिरामी तीन हजार किमी टाढा रहेको समेत अनुभूति नभएको डाक्टर लिङ बताउँछन् । यसअघि फोर–जी प्रविधि यिनै समस्याका कारण प्रयोगका लागि योग्य मानिएको थिएन । यस्तोमा अब बिरामीहरुले उपचारका लागि ठूलाठूला सहरसम्म धाउनुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको बताइएको छ ।

न्यु चाइना टीभीले युट्युबमा पोस्ट गरेको एउटा भिडियोमा डाक्टर लिङले फाइभ–जी प्रविधिबाट भविष्यमा पनि चिकित्सा क्षेत्रले धेरै फाइदा उठाउन सक्नेबारे आशावादी रहेको बताएका हुन् र यस किसिमको सफलतापछि बिरामीले स्थानीय अस्पतालमै उपचार गराउन सक्ने उनले बताए । हाल विश्वव्यापी रुपमा पार्किन्सन्सका १ करोड भन्दा धेरै बिरामी छन् । गत हप्ता पनि सिजिटिएनले फाइभ–जी प्रविधिकै मद्दतले कलेजोको शल्यक्रिया गरिएको खबर गरेको थियो ।

के हो फाइभ–जी, कसरी काम गर्छ यसले ?
प्रविधिको क्षेत्रमा विश्वले धेरै गति लिइसकेको छ । यस्तोमा अब फोर–जीबाट फाइभ–जी टेक्नोलोजीमा प्रवेश गर्ने समय पनि नजिकिएको छ । तर लामो समय अगाडि देखि चर्चामा रहँदै आएको फाइभ–जीले वास्तवमा कसरी काम गर्छ र यसका विशेषता कस्ता छन् अनि हाम्रो जीवनमा यसले कसरी प्रभाव पार्छ भन्नेबारे कमैले मात्र बुझेको पाइन्छ ।

वास्तवमा फाइभ–जी अर्थात ‘फिप्थ जेनेरेसन’ वा पाचौँ पिँढीको यस प्रविधिले विश्वमा नयाँ अर्थतन्त्रलाई जीवन दिने अपेक्षा गरिएको छ । हामीले यसअघि विभिन्न फिल्महरुमा देखेका स्मार्ट सिटी, रोबोटको व्यापकता, आफैँ कुद्ने गाडीलाई सम्भव बनाउनदेखि चिकित्सा क्षेत्रलाई समेत फाइभ–जीले नयाँ रुप दिने विश्वास गरिएको छ ।

यसरी हरेक नयाँ वायरलेस जेनेरेसन नेटवर्कको पहिलो प्राथमिकता तीव्र कनेक्सन रहँदै आएको छ । टु–जी भन्दा थ्री–जी छिटो र थ्री–जी भन्दा फोर–जी को कनेक्सन छिटो हुन्छ । यस्तोमा अब आगामी फाइभ–जी नेटवर्कले पनि पछिल्ला सबै जेनेरेसनलाई मात दिने गतिको कनेक्सन प्रदान गर्ने निश्चित छ । तरपनि फाइभ–जी फोर–जी भन्दा कति छिटो हुनेछ भन्नेमा मानिसहरु बढी उत्साहित छन् ।

यसरी फाइभ–जी निर्माणकर्ताहरुले यो नेटवर्क फोर–जी भन्दा १०० गुना छिटो हुने बताएका छन् जुन एउटा आठ हजार मेगापिक्सेल क्वालीटीको भिडियो सहज रुपमा हेर्न पर्याप्त हुनेछ भने कुनैपनि थ्रीडी फिल्म तीन सेकेन्डमै डाउनलोड गर्न सकिनेछ जसका लागि फोर–जी लाई ६ मिनेट लाग्ने गरेको छ । फाइभ–जीको अतिरिक्त ब्यान्डविथले नै यसको सेवालाई अझ बढी विश्वसनीय बनाउँछ जुन धेरैवटा ग्याजेटलाई एकै समयमा कनेक्सन प्रदान गर्न सक्षम छ । तर पछिल्ला जेनेरेसन जसरी फाइभ–जी भने स्मार्टफोनमा मात्र सीमित रहनेछैन ।

सेन्सर, थर्मोस्टाट, कार, रोबोट र अन्य सबै नयाँ प्रविधि एकदिन फाइभ–जीसँगै कनेक्ट हुने अपेक्षा गरिएको छ ।
अहिले सबैले प्रयोग गर्ने गरेको फोर–जीको ब्यान्डविथले भने यति ठूलो मात्रामा डाटा ट्रान्समिट गर्न सक्दैन । तर यसका लागि फाइभ–जीले पनि अत्याधिक तिव्र ‘सुपर–हाइ–फ्रिक्वेन्सी एयरवेभ’ सबैको ग्याजेटसम्म पुर्याउनु पर्ने हुन्छ । जति बढी फ्रिक्वेन्सी हुन्छ त्यति नै धेरै ब्यान्डविथ र त्यति नै तिव्र हाम्रो कनेक्सन हुन्छ ।

तरपनि यस्ता फ्रिक्वेन्सी पर्खाल, झ्याल या छतबाट छिरेर हामीकहाँ पुग्न नसक्ने हुँदा लामो यात्रा गर्नुपरे कनेक्सन पुनः सुस्त हुन जान्छ । यसको अर्थ वायरलेस कम्पनीहरुले हजारौँ होइन लाखौँका संख्यामा ससाना सेल टावरहरु हाम्रो घरभित्र, भवनमा र बत्तीका खम्बाहरुमा जडान गर्नुपर्ने हुन्छ । त्यसैले पनि फाइभ–जीले एकैपटकमा फोर–जीलाई प्रतिस्थापन नगरेर पहिले त्यसका कमजोरीहरुमा सुधार ल्याउने बताइन्छ ।

त्यस्तै एचडी भिडियो लगायत धेरै ठूला फाइलहरु खोल्दा जसरी हाम्रो डिभाइसले केही सेकेन्डको समय लिने गरेको छ, त्यसमा पनि फाइभ–जी कनेक्सनले ठूलो बदलाव ल्याउनेछ ।
किनकी फाइभ–जीको प्रयोग हुन थालेपछि हाम्रो ग्याजेटले कुनै समय नलिइ तुरुन्तै सो फाइल सुचारु गर्न सक्छ । यसकारण पनि फाइभ–जीले ‘सेल्फ ड्राइभिङ कार’ अर्थात आफैँ चल्ने गाडीलाई जीवन र मृत्युको अवस्थामा तत्कालै निर्णय लिने क्षमता दिलाउन सक्छ ।

यसैगरी स्वास्थ्य उद्योगले पनि फाइभ–जीले औषधि निर्माण र रोबोटिक शल्यक्रियामा सहयोग पुर्याउने विश्वास गरेको छ । यस किसिमका आधुनिक प्रणाली नेटवर्क र डिभाइसबीचको संचार सहज हुँदा मात्र सम्भव छन् । त्यसैगरी फाइभ–जी नेटवर्कले क्लाउड सर्भर जसरी पनि काम गर्न सक्ने हुँदा आफैँ चल्ने गाडीहरुमा कम्प्युटिङ र स्टोरेज पनि गर्न सक्षम छ । यसले कारको स्पेस र धेरै ऊर्जा बचत गराउन सक्छ । त्यसैले फोर–जी प्रविधिलाई सेल्फ–ड्राइभिङ कारका लागि असुरक्षित मानिएको हो ।

तपाईको प्रतिक्रिया