संघर्षको मुख्य क्षेत्र संसद् बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईतिहाईको कम्युनिस्ट सरकारले संसदीय क्षेत्रलाई मुख्य थलो मानेर सुधारका कार्यक्रम ल्याउने बताएका छन् । उनले ३ तहको सरकारले नीति तथा कार्यक्रम र कामको केन्द्र प्रष्ट पार्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवस तथा १ सय ४९ औं लेनिन जयन्तीका अवसरमा नेकपा कास्कीले सोमबार आयोजना गरेको प्रवचन कार्यक्रममा नेता गुरुङले सदनलाई मुख्य थलो बनाएर सुधारको कार्यक्रम अगाडि बढाउने उल्लेख गरे ।
गण्डकी प्रदेश संगठन कमिटीका इन्चार्जसमेत रहेका गुरुङले सत्तारुढ दल आफैं सडकमा जान नमिल्ने भएकाले संघर्षको मुख्य क्षेत्र संसदलाई बनाउनुपर्ने धारणा राखे । उनले प्रतिनिधि तथा राष्ट्रिय सभा, प्रदेश सभा, जिल्ला, नगर र गाउँ सभामा गएर आर्थिक समृद्धि र दिगो विकासको आधार तयार गर्ने बताए ।
राजनीतिक क्रान्ति समाप्त भएपछि समृद्धिको आधार तयार गर्ने चर्चा गर्दै उनले कम्युनिस्ट पार्टीको सरकारले समाज विकास क्रमलाई बुझेर नयाँ लक्ष्य निर्धारण गरी काम गर्ने उल्लेख गरे । क्रान्ति विरोधी पार्टीले संवैधानिक हक नपाउने चिनिया र सोभियत संघको निषेधको मोडलमा जान नसकिने जानकारी दिँदै नेपाली मोडेलमा निषेध गर्न नसकिने उनले बताए । ‘बुर्जुवा शक्तिले भने जस्तो आर्थिक उदारवादमा नगएर नेपालको परिवेश र विशेषतालाई आधार मानेर जनताको जनवादी व्यवस्थालाई अँगाल्नुपर्छ,’ उनले भने ।
नेता गुरुङले व्यक्तिगत तथा राजनीतिक स्वतन्त्रतामा मात्र सीमित नरहेर विपन्न र पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन सामाजिक न्यायसहितको लोकतन्त्रको वकालत गर्ने उल्लेख गरे । ‘गरिबीको रेखामुनिका २१ प्रतिशत जनतालाई उकास्न नसकेसम्म समृद्धि कायम गर्न सकिन्न,’ उनले भने, ‘उत्पादन र वितरण प्रणालीलाई न्यायोचित बनाइनेछ ।’ काम अनुसारको दामको व्यवस्था गरिनेछ ।’ उनले शोषणरहित समाजको निर्माण गर्ने दाबीसमेत गरे ।
मुख्यमन्त्री गुरुङले भौतिक पूर्वाधारको विकास र निर्माणका कामलाई तीव्रता दिने बताए । विजयको अहंकार लिएर नबसी नयाँ परिस्थितिको सामना गर्न योजनाबद्ध काम गर्ने मुख्यमन्त्रीको भनाइ छ ।
उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्ने जानकारी दिँदै उनले सरकारले प्रवाह गर्ने सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउने धारणा राखे । पुराना कानुन र संरचनालाई फेरेर नयाँ कानुन र संरचना बनाएर काम गर्ने जानकारी दिँदै उनले सिर्जनशीलता, मौलिकता र नेपालको विशेषता अनुसार सुधारका कार्यक्रम गर्ने बताए ।
नेता गुरुङले पार्टी र सरकारहरुको अन्तर सम्बन्ध सुधार गर्नुपर्ने धारणा राखे । कम्युनिस्टहरुले धैर्य लिन पर्ने सुझाव दिँदै उनले पिटी बुर्जुवा तथा न्यूनपुँजीवादी उग्रता प्रदर्शन गर्न नहुने उल्लेख गरे । ‘सरकारमा जाने र नजानेको अन्तरद्वन्द्व बढाउने मनोवृत्तिको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘सरकारले गरेन भनेर भन्ने बेला आएको छैन । ६ वर्षमा गर्न नसकेको काम ६ महिनामा गर्न सकिन्न ।’
१० लाख पार्टी सदस्य मुखमा स्टिच लागेको महसुस भएको उल्लेख गर्दै उनले सरकारको शाख जोगाउनुपर्ने धारणा राखे । उनले अबको ४ वर्ष ठीक ढंगले काम गर्ने बताए । शक्तिशाली कम्युनिस्ट पार्टी असफल भए कांग्रेसको नाममा फाँसीवाद सुरु हुने संकेत गर्दै उनले भारतको पश्चिम बंगालको कम्युनिस्ट पार्टीले जस्तै भयानक प्रतिगमनको दुर्दशा व्यहोर्न पर्ने उल्लेख गरे ।
ठूलो खड्कोको रुपमा रहेको जिल्ला तहको एकीकरणको अध्याय सकिएको चर्चा गर्दै उनले नगर तथा गाउँ पालिकातहको एकीकरणलाईै सकेर पार्टी एक ढिक्का भएर अगाडि बढ्ने बताए । उनले केन्द्रीय समितिका सदस्यहरुको कार्य विभाजन, पोलिटब्युरोको गठन र जनवर्गीय संगठनको एकीकरणको प्रक्रिया चाँडै सक्ने जनाए ।
पार्टीको स्थापना दिवसलाई परम्परालाई धान्नेभन्दा विगतको समीक्षा गर्नमा केन्द्रित गर्ने बताए । उनले पार्टीको कार्य नीति, रणनीति र संघर्षको बारेमा एउटै धारणा बनाउनेमा ध्यान दिनपर्ने उल्लेख गर्दै उनले वैचारिक एकतालाई सुदृढ बनाउने पर्ने धारणा राखे । कार्यक्रममा नेकपा गण्डकीका अध्यक्ष हितराज पाण्डे, जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया