उत्तर कोरियाको कार्गाे जहाज अमेरिकी नियन्त्रणमा

एजेन्सी
अमेरिकाले उत्तर कोरियाको एक मालबाहक समुद्री कार्गो जहाज नियन्त्रणमा लिएको छ ।
अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो ।
अमेरिकी न्याय विभागले उत्तर कोरियाको समुद्री जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेकाले नियन्त्रणमा लिनुपरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले कोइला निर्यात गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका बाबजुद उत्तर कोरियाले कोइला निर्यातको प्रयास गरेकाले नियन्त्रणमा लिनुपरेको अमेरिकाकी भनाइ छ ।
उत्तर कोरियाको कोइलाको बजार चीनलगायतका देश हुन् । जहाँ कोइला बिक्री गरेर उत्तर कोरियाले परमाणु कार्यक्रममा लगानी गर्ने गरेको दाबी अमेरिका तथा संयुक्त राष्ट्र संघको छ । यसअघि सन् २०१८ मा पनि उत्तर कोरियाको यो जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो ।
बीबीसीका अनुसार, यो जहाज कोइला तथा ठूला मेसिनरी उपकरण बोक्नमा प्रयोग हुँदै आएको थियो । उत्तर कोरियाले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
परमाणु निःशस्त्रीकरणलाई लिएर अमेरिका–उत्तर कोरियाबीच भएका शिखरवार्ताले आशा जगाएको थियो । तर, यहीबीच अमेरिकाले उत्तर कोरियाको समुद्री जहाज नियन्त्रण लिएपछि सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया