बिपन्न महिला मजदुरलाई आवास गृह बनाउन माग

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेश सभा सदस्य तथा ट्रेड युनियन महासंघ जिफन्ट उपाध्यक्ष मीना गुरुङले अति बिपन्न महिला मजदुरका लागि सामूहिक आवास गृह बनाउन प्रदेश सरकारसँग माग गरेकी छिन् । उनले नेपालका विकट पहाडी जिल्लाबाट पोखरा आई मजदुरी गर्ने महिलालाई प्रदेश सरकारले आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
सांसदद गुरुङले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट पेश गर्दा देश बनाउने कर्मीको पक्षमा ध्यान नपुर्याएको आरोपसमेत लगाइन् । उनले भनिन्, ‘अबका दिनमा बिपन्न महिला मजदुरको हितमा बजेट आओस् । पोखरा जस्तो महंगो सहरमा न्यून आय भएका महिला मजदुरले सुत्केरी अवस्थामा कष्टकर जीवन बिताउनु परेको छ ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै औद्यागिक प्रतिष्ठानलाई आवद्ध गराउन प्रदेश सरकारले पहल गर्नुपर्ने विचार राखिन् ।
असंगठित क्षेत्रमा जोखिमपूर्ण काम गर्ने मजदुरको भौतिक सुरक्षा र बिमाको प्रवन्ध गरिनुपर्नेमा उनले जोड दिइन् । सांसद गुरुङले भनिन्, ‘क्षतिपूर्तिले जीवन साटिँदैन । कसैलाई जोखिमपूर्ण काममा लगाउदा सुरक्षाको प्रवन्ध गर्नुपर्छ ।’ उनले समाज आर्थिक रुपले अनुशासन हीन बन्दै उल्लेख गर्दै उनले सरकारले आर्थिक अनुशासन र सुशासन कायम गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।
तपाईको प्रतिक्रिया