एमसिसी देशको हितमा छः रामहरि खतिवडा

समाधान संवाददाता
गोरखा
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले एमसिसी देशका लागि हितकर रहेको बताएका छन् । गोरखाका सोमबार प्रेस युनियनले गरेको कार्यक्रममा उनले भने, ‘एमसिसीमा यत्रो लफडा गर्नुपर्छ भन्ने नै लाग्दैन, यो देशकै हितमा छ’ उनले प्रश्न गरे ‘विना सर्त कसैले विकासमा लगानी गर्छ भने किन अफ्ट्यारो मान्ने ?’
खतिवडाले पछिल्लो समय सरकार नातावाद र दातावादमा डुबेको बताए । ‘२ तिहाई सरकारबाट जनताले धेरै अपेक्षा गरेका थिए’ पूर्व सांसदसमेत रहेका खतिवडाले भने, ‘तर अपेक्षा ठिक उल्टो भइदियो, अहिले सरकार नाता र दाता हेरे अघि बढेको छ ।’
सभामुख चुन्नका लागि नेकपाको सकसबाट प्रमाणित भएको उनको भनाइ थियो । उनले संसदीय व्यवस्थासमेत असफल बनाउन सरकार लागिपरेको बताए । उनले भने, ‘संसदीय व्यवस्थाको अपमान सरकार आफैले गर्दैछ ।’
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट सिंहदरबार जान नसक्ने अवस्था सिर्जना भएको भन्दै खतिवडाले आसेपासेको घेराबन्दीमा देशलाई बन्धक बनाउने छुट कसैसँग नभएको बताए । जनताका अपेक्षा अनुरुप विकासले गति लिन नसकेको उनको तर्क थियो ।
वर्तमान सरकार ५ वर्षसम्म नटिक्ने ठोकुवा गर्दै उनले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताए । राष्ट्रियताका मुद्दामा सरकार कमजोर बन्दै गएको उनको टिप्पणी छ । ‘लेखेर राख्नुस् आफ्नै कारणले यो सरकार ५ वर्ष टिक्दैन’ नेता खतिवडाले भने, ‘यसको फाइदा कांग्रेसले लिनुपर्छ, अव मध्यावधी निर्वाचनको तयारी कांग्रेसले गर्नुपर्छ ।’
पछिल्लो समय संसदमा विचारधिन रहेका प्रेस काउन्सिल, सूचना तथा प्रविधि लगायतका विद्येयकले जनताका स्वतन्त्रता खोस्ने तर्क उनको छ । कार्यक्रम नेपाल प्रेस युनियनका उपाध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया