एन्फा अध्यक्षको गालामा सांसद राजीवको झापड

सुरेशराज अधिकारी
पोखरा
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङमाथि मंगलबार हातपात गरेका छन् ।
पोखराको भण्डारढिकस्थित खेल मैदानमा मंगलबार सुरु मुख्य मन्त्री कप फुटबल प्रतियोगिता उद्घाटन हुनुअघि सांसद राजीवले मीलनलाई कुटेका हुन् । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रमस्थल पुग्नु अगाडि भनाभन हुँदा सांसद राजीवले अध्यक्ष मीलनलाई गालामा झापड हान्दै लात्तीले तिघ्रामा हानेको प्रत्यक्षदर्शीले बताए । प्रतियोगितामा भाग लिन मनाङबाट डाँफे लालीगुराँस युवा क्लबको टोली पोखरा आएको छ ।
मंगलबार सुरु हुने प्रतियोगिताका लागि मनाङबाट माघ १ गते नै टोली आए पनि खेलाडीलाई खानेबस्ने प्रबन्ध नगरेको र अभ्यासस्थल पनि नदिएको भन्दै सांसद राजीवले हातपात गरेका हुन् । अध्यक्षमाथि किन हात हाल्नुभयो त भन्ने सञ्चारकर्मीको प्रश्नमा सांसद राजीवले भने, ‘मैले हात हालेको हैन झापड हानेको हुँ, यो मान्छे करप्टेड रहेछ ।’ प्रतियोगिताका लागि बोलाइसकेपछि सबै प्रबन्ध आयोजकले नै गर्नुपर्ने उनको जिकीर थियो । अनियमितता गर्नेलाई कारवाही गर्ने अन्य संस्था पनि ‘करप्टेड’ भएकाले आफूले झापड हानेको सांसद राजीवले स्वीकार गरे ।
आयोजक एन्फा कास्की अध्यक्ष मीलन गुरुङ प्रतियोगिता हुनुभन्दा १ दिन अघिदेखि मात्र खेलाडीलाई खाने बस्ने प्रबन्ध गर्ने नियम भएकाले आफूले त्यही अनुसार गरेको र कुनै अनियमितता नगरेको बताउँछन् । मनाङको खेल बुधबार भएकाले मंगलबारबाट मात्र उसको खर्च बेहोर्ने प्रावधान छ ।
उनले अभ्यासका लागि पोखरास्थित संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा प्रबन्ध गरेको बताए । मीलनले सांसद राजीवले पहिला धकेलेर गालामा झापड हानेको र त्यसपछि लात्ताले तिघ्रामा हानेको बताए । उनले भने, ‘पिट्न मैले पनि सक्थें तर हात फर्काइनँ ।’ यसबारेमा आफूले कहिँ कतै उजुरी नगर्ने बताए ।
मारापिटी गर्नहुन्नः मुख्यमन्त्री गुरुङ
खेलमैदानमा घटना भएको करिब २ मिनेटपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कार्यक्रम प्रवेश गरेका थिए । उनलाई यो घटनाको बारेमा कसैले जानकारी गराएको थिएन । उद्घाटनपछि विगतका घटना औंल्याउँदै मुख्यमन्त्री गुरुङले भने, ‘खेल भैरहँदा धेरै ठाउँमा विवाद र मारापिटी हुन्छ, भयो भने यस्ता ठाउँमा फुटबल खेल्ने र खेलाउने कुरा पछि हट्दै जान्छ ।’ प्रतियोगितालाई सफल बनाउन र शन्तिपूर्वक सम्पन्न गर्न स्थानीयस्तरबाट सहयोग हुनेपर्ने भनाइ उनको थियो ।
उनले प्रदेशको विकासका लागि खेल पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता समेत जनाए । उनले तल्लो तहबाट विकास गर्न सकेमात्र खेलकुदमा माथिल्लो तहको विकास हुने बताए ।
राजीव मञ्चमा गएनन्
खेलमैदानमा हातपात भएको केहीबेरमै औपचारिक कार्यक्रम सुरु भएको थियो । त्यसो त प्रमुख अतिथि आउन बाँकी रहेकाले आसनग्रहण भइरहेको थियो । त्यहीबीचमा सांसद राजीव आफ्ना समर्थक र खेलाडीसहित खेलमैदानमा प्रवेश गरे । सिधै मीलन भएतिर गएर भनाभन गर्न थाले र हातपात पनि गरे । करिब डेड मिनेटजतिमा भनाभन र हातपात भइसकेको थियो । घटनालगत्तै आयोजकले आसनग्रहणका लागि सांसद राजीव गुरुङलाई मञ्चमा बोलाएका थिए । तर उनी मञ्चमा नगइ प्यारापिटमै बसे । पहिलो खेलको मध्यान्तरपछि उनी बाहिरएका थिए । त्यतिबेलै उनले पत्रकारसँग कुराकानी गरेर आफ्नो भनाइ राखेका थिए ।
को हुन् राजीव
राजनीतिक रुपमा लामो समय नेपाली कांग्रेसको तरुण दलमा आबद्ध राजीव गुरुङ पछिल्लो समय राप्रपामा थिए । स्वतन्त्र रुपमा उठेका उनी तत्कालीन एमालेको सहयोगमा प्रदेश सभा चुनावमा मनाङ ‘ख’ बाट निर्वाचित भएका हुन् । निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए । निर्वाचन लगत्तै उनमाथि फौजदारी अभियोग लागेका कारण केही समय सम्पर्कमा नरहेका गुरुङलाई २०७५ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चको आदेशले छुटेपछि उनी पोखरा आएर सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका हुन् ।
उजुरी नपरी कारवाही गर्न मिल्दैन
कुटाइ खाएका एन्फा अध्यक्ष मीलन गुरुङले मंगलबार साँझसम्म प्रहरी प्रशासनमा जाहेरी दिएका छैनन् । पीडकले जाहेरी दर्ता नभई प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । उनले भने, ‘पीडकले अन्यत्र जे कुरा भने पनि प्रहरीमा निवेदन नदिएसम्म त्यसबारेमा मुद्दा उठान हुँदैन, अहिलेसम्म उजुरी परेको छैन ।’
तपाईको प्रतिक्रिया