आफ्नै परिवेशको शिक्षा नीति लागु गर्छाैंः मन्त्री गुरुङ

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय स्थापना गरी आफ्नै परिवेशको शिक्षा नीति लागु गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् । विश्वविद्यालयको शिक्षा नीति अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै उनले शिक्षा प्रणाली पनि व्यावसायिक र वैज्ञानिक हुनेसमेत दाबी गरे ।
ग्लोबल कलिजियट माविको २४ औं वार्षिकोत्सवका अवसरमा मन्त्री गुरुङले माध्यमिक तहसम्मको शिक्षा संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न अझै आनाकानी गरेको आरोप लगाए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्ति पाउने तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले नपाउने भन्ने चर्चा सम्बन्धमा मन्त्री गुरुङले भने, ‘यो हल्लामात्रै हो । यस्तो कदापि हुन सक्दैन । सरकारी स्कुल र बोर्डिङ स्कुलमा पढ्दैमा पक्षपात गर्न मिल्दैन ।’
निजी विद्यालयमा पढ्ने धनी र सरकारी विद्यालयमा पढ्ने विद्यार्थी गरिबका छोराछोरी हुन् भन्ने भ्रम अन्त्य गर्नुपर्नेमा जोड उनले जोड दिए । मुलुक समृद्ध बनाउने ढंगले अबको शिक्षा नीति बन्नुपर्नेमा मन्त्री गुरुङले जोड दिए । ‘अबको शिक्षा व्यावहारिक हुन जरुरी छ’, मन्त्री गुरुङले भने, ‘विद्यार्थीले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने बनाउनुपर्छ, तबमात्र मुलुक समृद्धितर्फ जान्छ ।’
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिनुपर्ने खाँचो औंल्याए । उनले अन्य क्षेत्रको तुलनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट निकै कम भएको उल्लेख गरे ।
विद्यालयका प्रिन्सिपल बाबुराम पन्तले निजी विद्यालयप्रति राज्यको दृष्टिकोण अझै परिवर्तन हुन नसक्नु बिडम्बना भएको बताए । निजी विद्यालयले सरकारकै अनुमतिमा, सरकारले नै बनाएको शिक्षा नीति लागु गरेका हुनाले फरक दृष्टिकोण राख्न नहुने उनले तर्क गरे ।
ग्लोबलले कलेज सञ्चालनका लागि आवेदन दिएको वर्षौं बित्दा पनि सम्बन्धन नपाउनु बिडम्बना भएको भन्दै उनले अब अन्तर्राष्ट्रिय कलेजको सम्बन्धन लिएर भए पनि कलेज सञ्चालन गर्ने चेतावनी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक डा. अर्जुन आचार्य, विद्यालयका भाइसप्रिन्सिपल वेदप्रसाद शर्मा लगायतले बोलेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा १० वर्ष सेवा गरेका शिक्षक, कर्मचारीका साथै उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक रामभक्त जोजिजु, बाल गायक उत्प्रेम जोजिजुका साथै विद्यार्थीले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए ।
विद्यालयले वर्षभरि नै विविध कार्यक्रम गरी रजत महोत्सव मनाउने विद्यालय प्रिन्सिपल बाबुराम पन्तले जानकारी दिए । महोत्सवका लागि वेदप्रसाद शमाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया