बालुवाटार जग्गा प्रकरणः राजनीतिक प्रतिशाेध रहेकाे कांग्रेसकाे दाबी

समाधान संवाददाता
काठमाडौं
नेकपाका नेताहरुलाई उन्मुक्ति दिएर तत्कालीन उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति विजय गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारको पछिलो निर्णय अत्यन्त पूर्वाग्रही रहेको ठहर कांग्रेसले गरेको छ । यो पूर्वाग्रही कदमको विरोधमा कांग्रेसले कानुनी र राजनीतिक लडाइँ गर्ने निर्णय गरेको छ ।
उपसभापति गच्छदारविरुद्ध मुद्दा दर्ता गरेपछि पार्टीका तर्फबाट चाल्नुपर्ने कदमबारे छलफल गर्न बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकमा कानुन व्यवसायी बोलाएर छलफल गरिएको थियो ।
सरकारले नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर गच्छदारमाथि प्रतिशोधपूर्ण कदम चालेको बैठकले ठहर गरेको छ । बैठकले अख्तियारको यो कदमविरुद्ध संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । यो कदमविरुद्ध प्रदर्शन गर्न भातृसंस्था परिचालिन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
शुक्रबार कांग्रेसका भातृ संस्थाले राजधानीको माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबारै बसेको कांग्रेस भातृसंस्थाको बैठकमा आन्दोलनका बारेमा छलफल भएपछि सरकारविरुद्ध सडक संघर्षमा जाने निर्णय भएको हो । बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र गच्छदार, महामन्त्री डा. शशांक कोइराला, बालकृष्ण खाँण, मीन विश्वकर्मा लगायतका नेता उपस्थित थिए । भातृसंस्थाका प्रमुखसँगको बैठकमा गच्छदारले सरकारले प्रतिशोधपूर्ण ढंगबाट आफूलाई फसाउन खोजेको भन्दै उक्त प्रकरणमा आफू कुनै पनि रुपमा संलग्न नभएको बताएका थिए ।
भातृसंस्थाका प्रमुखहरुले सरकार अधिनायक ढंगबाट अघि बढेर सिंगो व्यवस्थामाथि प्रहार गर्न उद्यत भएको ठहर गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेका हुन् ।
पार्टी कार्यालयमा बिहीबारै पत्रकार सम्मेलन गरी कांग्रेसले केही जिम्मेवार व्यक्तिलाई उन्मुक्ति दिएर मुद्दा दायर नगर्नुपर्ने व्यक्तिलाई पूर्वाग्रही ढंगले फसाउने काम भएको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वाग्रही ढंगले मुद्दा दायर भए पनि गच्छदारले कानुनी र राजनीतिक रुपमा सामना गर्ने बताए । उनले विधि र प्रक्रिया मिचेर मुद्दा दायर भए पनि कांग्रेस विधि र प्रक्रियामा विश्वास राख्ने पार्टी भएकाले सोही अनुसार अघि बढ्ने स्पष्ट पारे । प्रवक्ता शर्माले यसलाई कांग्रेसका नेता र कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साही बनाउने शृंखलाका रुपमा पार्टीले लिएको बताए ।
कांग्रेसले गच्छदारलाई पछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै आएर जनताबाट निरन्तर निर्वाचित नेताका रुपमा चित्रण गरेको छ । अख्तियारलाई अधिकार सम्पन्न गराउने भ्रष्टाचार निवारण ऐन, २०५९ संसदमा प्रस्तुत गर्ने कांग्रेस सरकारका मन्त्री गच्छदारविरुद्ध नै आयोगलाई गलत ढंगले प्रभावित गरिएको कांग्रेसको आरोप छ ।
कांग्रेसले आफ्ना संसदीय दलका उपनेता गच्छादारमाथि भ्रष्टाचार मुद्दा चलाएकोप्रति आपत्ति जनाउँदै बिहीबार संघीय संसद अवरुद्ध गरेको छ । राजनीतिक आस्थाका आधारमा फसाइएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । कांग्रेसकी सचेतक पुष्पा भुसालले बैठकको सुरुमै अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छायाँ बनेको भन्दै विरोध जनाइन् । भुसालले भनिन्, ‘अख्यितार सरकारको लाचार छायाँ बनेको छ । अख्तियार वैचारिक प्रभावमा परेर अघि बढेको छ । कुनै पनि हालतमा लोकतान्त्रिक हुनै सक्दैन । यो विषयमा प्रमुख प्रतिपक्षीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ कांग्रेसका सांसदले उठेर सदन अवरोध गरेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
तपाईको प्रतिक्रिया