लकडाउनका बेला अनलाइनबाट विद्यार्थी पढाउँदै सैनिक स्कुल

समाधान संवाददाता
कोरोना भाइरसको संत्रासका कारण लागु गरिएको लकडाउनका बेला अवरुद्ध पठनपाठनलाई निरन्तरता दिन पोखराको एउटा विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ । सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय विद्यालयले अनलाइन कक्षा सुरु गरेको हो ।
उक्त विद्यालयका शिक्षक उपेन्द्र पौडेलले मंगलबार १२ कक्षाका विद्यार्थीलाई अनलाइनबाट अंग्रेजी विषय पढाएका थिए । ‘घरै बसीबसी तलब खान मनले मानेन, विद्यार्थीको भविष्य हेरेर अनलाइनै भए पनि कक्षा चलाउन प¥यो भन्ने ठान्यौं’, उनले भने, ‘१२ कक्षाको परीक्षा भएको छैन, उनीहरुलाई लक्ष्य गरेर कक्षा चलाएका हौं ।’ अरु कक्षाको नयाँ शैक्षिक सत्र सुरु नभएकाले अरुका लागि तत्काल अनलाइन कक्षा नभएको पनि पौडेलले सुनाए ।
अनलाइनबाट विद्यार्थी पढाउँदै सैनिक स्कुल पोखराका शिक्षक उपेन्द्र पौडेल ।
१० कक्षालाई पहिल्यैदेखि अनलाइन कक्षा सुरु गरिएको जानकारी पनि पौडेलले दिए । ‘अनलाइन पहुँच नभएका विद्यार्थीलाई विषयगत शिक्षकले अनुकुलता हेरी फोनबाट पनि सघाउनुभएको छ’, उनले भने ।
११ कक्षाका लागि पनि अनलाइन कक्षा बुधबारबाट सुरु गर्न लागिएको जानकारी पौडेलले दिए । पौडेलका अनुसार अनलाइन बैठक गर्ने जुम सफ्टवेयरको सहायतामा अनलाइन कक्षा चलाइएको हो ।
‘पहिला फेसबुक ग्रुप बनाएर जुमको लिंक पठायौं र आज कक्षा हुन्छ भनेर जानकारी गरायौं’, उनले भने । सैनिक विद्यालयमा देशभरका ५९ जिल्लाबाट आएका विद्यार्थी आवासीय सेवासहित पढ्दै आएका छन् ।
कोरोना भाइरस रोकथाम गर्न घोषित लकडाउनका बेला सबैजसो विद्यार्थी आआफ्नो जिल्लामै छन् । पौडेलले १२ कक्षाका ७६ विद्यार्थीमध्ये ४० जनाले मंगलबार अनलाइन कक्षाबाट पढेको जानकारी दिए । उनले भने, ‘भोलिभोलि अझै धेरै विद्यार्थी होलान् ।’
पोखरामा अरु विद्यालयले भने अनलाइन कोर्स चलाएको पाइएको छैन । कोर्स सकिएर विद्यार्थी घरमै बसेर तयारी गरिरहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष रामजी शर्माले सुनाए । ‘केही प¥यो भने शिक्षकहरुले फोनबाट सघाउनुभएको होला’, उनले भने ।
तपाईको प्रतिक्रिया