प्रदेश सभा बस्न २५ लाख खर्चेर पोखरा सभागृह मर्मत

समाधान संवाददाता २०७७ जेठ १० गते ११:०१

समाधान संवाददाता

Advertisement

झार मौलाएको चउर, ह्वास्सै गन्हाउने चर्पी, भाँच्चिएका कुर्ची, रङ खुइलिएका भित्ता, माकुराका जालो भएका सिलिङ पोखरा सभागृहमा झट्ट देखिने दृश्य हो । त्यस्तैमा पनि कार्यक्रम हुँदै आएका थिए ।

लकडाउनयता भने कार्यक्रम हुने कुरै भएन । २ दिनयता भने सभागृहको दृश्य फेरिएको छ । मौलाएर फिँजारिएका रुखका हाँगाहरु छिमलिएका छन् । चउरमा मौलाएका झार फाँडिएको छ ।

भित्ताहरु रंग रोगन गरिएको छ । भाँच्चिएका कुर्चीले पनि नयाँ रुप पाएका छन् । कुर्चीमा बस्ने र आड लाग्ने वस्तु फेरेर नयाँ राखिएको छ । नयाँ रङरोगनले भित्ता र सिलिङ पनि चिरिच्याट्ट भएका छन् । धुलो र मैलो भएका भुइँ धोइपखाली र पुछपाछ गरी सफा पारिएको छ ।

यी सबै तयारी गण्डकी प्रदेश सभाको अधिवेशनका लागि हो । खासमा गण्डकी प्रदेश सभा नदीपुरस्थित पोखरा सहरी विकास प्रशिक्षण केन्द्रको भवनमा बस्दै आएको थियो । तर पछिल्लो समय विश्वभर कोरोना भाइरस डिजिज (कोभिड १९) को महामारी फैलिएपछि संसारका अधिकांश देशमा लकडाउन छ ।

Advertisement

व्यक्तिव्यक्तिबीच दुरी कायम गर्नुपर्ने निर्देशन विश्व स्वास्थ्य संगठनसहित सरकारहरुले दिएका छन् । त्यसै रोगलाई ख्याल गर्दै फराकिलो पोखरा सभागृहमा प्रदेश सभा बस्न लागेको हो ।

गण्डकी प्रदेश सरकारले ११ जेठका लागि प्रदेश सभाको बर्खे अधिवेशन डाकिसकेको छ । अधिवेशनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पोखरा सभागृह मर्मत सम्भार गरिरहेको हो । उक्त मन्त्रालयका सचिव ईश्वर मरहट्टाका अनुसार २५ लाख रुपैयाँ हाराहारीमा सभागृह मर्मत भइरहेको छ । त्यसमा खर्च अझै बढ्न सक्ने देखिएको उनले सुनाए ।

शौचालयदेखि खानेपानीको आपूर्ति, बिजुली बत्तीहरुसमेत गण्डकी प्रदेश सरकारले सभागृहमा मर्मत गरेको छ । प्रदेश सभाको अधिवेशन नै चल्ने हुँदा अस्थायी रुपमै भए पनि केही भौतिक पूर्वाधार त्यहाँ तयार पारिएको छ ।

‘सभामुखको च्याम्बर, मुख्यमन्त्रीको च्याम्बर पनि बनाएका छौं,’ सचिव मरहट्टाले भने, ‘दलका कार्यालयहरु, प्रदेश सभा सचिवालयको कक्ष पनि तयार गरेका छौं ।’ सभागृह मर्मत खर्च प्रदेश सभा सचिवालयले नभई सरकारले नै व्यहोर्ने निर्णय भइसकेको छ ।

प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारीले बर्खे अधिवेशन पूरै सभागृहमा सञ्चालन गरिने जानकारी दिए । ४ सयभन्दा बढी कुर्ची प्रदेश सभा सदस्यका लागि मर्मत गरिएको छ । बाल्कोनीमा पत्रकार र दर्शकका लागि ठाउँ छुट्याइएको छ । मर्मत गरिएका ४ सय कुर्चीमा सामाजिक दुरी कायम हुने गरी प्रदेश सभा सदस्य (सांसद)हरु बस्ने व्यवस्था मिलाइने जानकारी सभामुख अधिकारीले दिए ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । ४ सय कुर्ची मर्मत गरिएको हुँदा उनीहरुले प्रशस्त मात्रामा सामाजिक दुरी कायम गरी बस्ने ठाउँ पाउनेछन् ।

‘कोरोना भाइरस परीक्षण गर्न स्वाबको पिसिआर टेस्ट नेगेटिभ आएकालाई मात्रै भित्र प्रवेश दिइनेछ,’ सभामुख अधिकारीले भने, ‘कोही माननीयज्यूकै पनि परीक्षण भएको छैन भने उहाँहरुलाई पनि प्रवेश हुँदैन, अरुको त प्रवेश गर्ने कुरै भएन ।’ प्रदेश अधिवेशनलाई ख्याल गर्दै सरकारले मुख्यमन्त्री, मन्त्री, सांसद, सुरक्षाकर्मी र कर्मचारीहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ ।

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन ११ गते आह्वान गर्ने निर्णय गण्डकी प्रदेश मन्त्रिपरिषदको ४ जेठको बैठले गरेको थियो । यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । त्यसबाहेक केही विधेयकको तयारी पनि सरकारले गरेको छ ।

यसअघि २३ पुसमा सुरु भएको प्रदेशको हिउँदे अधिवेशनको अन्तिम बैठक चैत ६ गते डाकिएकोमा सूचना टाँसेर स्थगित भएको थियो ।

ढ्यापढ्याप गर्ने टेबुल छैन

प्रदेश सभाको भवन नदीपुरमा प्रत्येक सांसदहरुका सामुन्ने टेबुल र टेबुलमा माइक हुन्थ्यो । सभागृहमा भने त्यस्तो सुविधा हुनेछैन । बोल्न चाहने सांसदलाई ह्यान्ड माइकको व्यवस्था गर्ने तयारी छ ।

आफूले समर्थन गरेको विषयमा सांसदले टेबुलमा हात ठोकेर ढ्यापढ्याप गर्ने संसदीय चलन हुन्छ । सभागृहमा भने यस्तो नहुने भयो । टेबुल नभएको विकल्पमा आफू बसेको आडैको खाली कुर्चीमा उनीहरुले ढ्यापढ्याप गर्न भने सक्छन् ।

तपाईको प्रतिक्रिया