राजस्व नउठाउने कर्मचारीसँग मेयर कडा

ईश्वर देवकोटा, पोखरा
पोखरा महानगरपालिकाका लेखा तथा राजस्व शाखाका कर्मचारीका कारण करौडौं राजस्व जोखिममा परेको भन्दै मेयर मानबहादुर जिसीले कारवाहीका लागि प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएका छन् । पूर्व राजस्व प्रमुख छवि शर्मा, हालका प्रमुख गणेश पाण्डे र लेखा प्रमुख जयराम पौडेललाई महानगरले गत आर्थिक वर्षमा लगाएको ठेक्काबाट उठ्नुपर्ने रकम उठाउन बेवास्ता गरेकाले पहिलो चरणमा लिखित स्पष्टीकरण माग गरेको थियो ।
उनीहरुमध्ये कर्मचारी छवि शर्माले स्पष्टीकरण बुझाए । गणेश पाण्डे र जयराम पौडेलले भने स्पष्टीकरण बुझाउन आनाकानी गरिरहेका छन् । मेयर जिसीसँग स्वयंले कर्मचारीलाई कारबाही गर्ने अधिकार छैन् । त्यसैले प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई निर्देशन दिएको मेयर मानबहादुर जिसीले समाधानलाई बताए ।
महानगरका घाट ठेक्का प्रकरण उत्कर्षमा पुगेपछि १ छानबिन अध्ययन समितिसमेत बनाइएको थियो । वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली संयोजकत्व उक्त समितिले कर्मचारीले पदीय दायित्व निर्वाह नगरेको औंल्याएको थियो ।
समितिको प्रतिवेदन अध्ययन गरी कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृत बराललाई मेयर जिसीले भनेका हुन् । समितिलाई अध्ययनकै क्रममा स्पष्टीकरण दिइसकेको भन्दै राजस्वका पाण्डे र लेखाका पौडेलले मेयरलाई स्पष्टीकरण नबुझाएको स्रोतको भनाइ छ ।
अध्ययन समितिले दिएका सुझाव र प्राप्त तथ्य आधार केलाई कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको मेयर जिसीले बताए । ‘प्रतिवेदनले दिएको सुझाव, अध्ययनबाट प्राप्त तथ्य प्रमाणका आधारमा दायित्व निर्वाह नगर्ने कर्मचारीलाई कारवाही गर्नू भनेर निर्देशन गरेको छु,’ मेयर जिसीले भने, ‘प्रतिवेदन र आफूलाई त्यसमाथि पनि चित्त नबुझेका बुँदाहरुमा थपेर जिम्मेवारीअनुसारको कारवाही गर्नू भनेर पठाएको छु ।’
पूर्व राजस्व प्रमुख छवि शर्मालाई भने आन्तरिक रुपमै महानगरले फाँट सरुवा गरिसेकेको छ । महानगर स्रोतकाअनुसार उनलाई राजस्व शाखाको जिम्मेवारीबाट अलग गरी प्रमुख प्रशासकीय अधिकृतकै सचिवालयमा सरुवा गरिएको छ ।
कर्मचारी छविले घाटका ठेक्काबाट उठाउनुपर्ने रकम नउठाएको आरोप लेखाप्रमुख जयराम पौडेलले लगाएका थिए । उनले लिखित निवेदन सहित कारवाहीको मागसमेत गरेका थिए । तर, कर्मचारी छविले भने घाट सम्झौताको समयमा राजस्व शाखाको प्रमुख नरहेको र माथिल्लो तहबाट निर्देशन आएबमोजिम साक्षी बसेको बताउँदै आएका छन् ।
सम्झौतामा लेखाप्रमुख पौडेलसमेत साक्षी बसेकाले राय पेस नगर्नुमा उनको समेत कमजोरी रहेको मेयर जिसीको भनाई छ । ‘सम्झौताको १४ दिनभित्रमा दाखिला हुनुपर्ने बैंक ग्यारेन्टी लेखाबाटसमेत सोधनी भएको पाइएन । दाखिला नहुँदा कम्तीमा राय पेस गर्नुपर्ने थियो,’ मेयर जिसीले भने ।
रामघाटको ठेकेदारबाट अन्तिममा भएपनि बैंक ग्यारेन्टी बापतको रकम दाखिला हुनुले जोखिम टरेको उनको भनाई छ । ‘१४ दिनभित्र नआएको एउटा पाटो भयो । तर, रामघाट ठेक्का २ करोड २८ लाख असार अन्तिममा पनि नआएको भए हामीले समाउने ठाउँ हुने थिएन,’ उनले भने, ‘कर्मचारीको मात्र भर परेर नेतृत्वले ख्याल नगरेको भए त्यो राजस्व आउने थिएन । हामीले मेहनत गरेकै हौं ।’
पोखरा महानगरका अधिकांश घाटका ठेक्काबाट सम्झौता बमोजिमको रकम उठ्न सकेको छैन । झन्डै १० करोड रुपैयाँमाथिको राजस्व गत आवको तेस्रो चौमासिकभित्र उठिसक्नुपर्नेमा कर्मचारीकै लापरबाहीका कारण उठ्न नसक्दा जोखिम बढेको हो । ठेकेदारले समेत उक्त राजस्व दाखिला गर्न आनाकानी गरिरहेका छन् । रामघाट, गोस्तेघाट, पुरुन्चौर, लालटिनबजारसहितका ५ वटा घाटका ठेकेदारहरुले सर्वोच्चमा रिट दायर गर्दा अन्तरिम आदेशले तत्काललाई उनीहरुको नगद वा बैंक जमानत जफत गर्नबाट रोकेको छ ।
मुद्दाको किनारा नलाउँदासम्म महानगरले बैंक ग्यारेन्टीसमेत जफत गर्नबाट बञ्चित हुँदा राजस्व संकलनमा अन्योल कायमै छ । रामघाटको ठेक्का पाएको चितवन भरतपुरको राजी कन्स्ट्रक्सनले गत आवको अन्तिममा मात्र २ करोड २८ लाख रुपैयाँ बैंक जमानतबापत दाखिला गरेको थियो । राजस्व पुरै तिरिसक्नुपर्ने अवधिमा पनि बैंक ग्यारेन्टी नबुझाएको उक्त कम्पनीलाई त्यतिका अवधिसम्म उन्मुक्ति मिल्नुको कारण कर्मचारीकै मनोमानी भएको मेयरको ठहर छ ।
‘लेखा र राजस्व जिम्मेवार हुनुपर्ने पक्षमा दायित्वबोध नदेखिएकै हो । जनप्रतिनिधिले त्यसको जानकारी पाएपछि कम्पनीले तत्कालै बैंक जमानत बुझाएको हो । त्यसकारण पनि राजस्व जोखिममा परेको छैन । उठाउनुपर्ने रकम प्रक्रियाअनुरुप नै उठ्छ । यसमा शंका छैन,’ मेयर जिसीले भने ।
लेखकबाट थप:
तपाईको प्रतिक्रिया