दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।
संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सबै सांसदलाई खातामा आएको दसैं भत्ता संसद सचिवालयलाई फिर्ता गर्न निर्देशन दिएका हुन्।
कांग्रेसका सांसदहरुले संसदीय दलमै छलफल गरेर सबै सांसदले दसैं भत्ता फिर्ता गर्न माग गरिरहेको बेला देउवाले यस्तो निर्देशन दिएका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले दसैं भत्ता फिर्ता गर्न सभापतिबाट आज निर्देशन आएको बताए।
अहिलेको विषम परिस्थितिमा सांसदहरुले दसैं भत्ता लिनु उपयुक्त नरहेकोले त्यो रकम सरकारले कोभिड कोषमा राखेर जनताको हितमा खर्च गरोस कांग्रेसको चाहना रहेको उनले बताए।
प्रमुख सचेतक खाँणले यसअघि नै दसैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेसको ६३ र राष्ट्रिसभामा ६ जना सांसद छन्। संघीय सांसदले ६४ हजार ७० रुपैयाँको दरले दसैं भत्ता पाएका छन्।
तपाईको प्रतिक्रिया