सुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

समाधान संवाददाता २०७७ मंसिर १० गते ११:३८

मनाङ, रासस

Advertisement

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ ।

हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।

गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए ।

यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए ।

Advertisement

जिल्लाभरका २८ विद्यालयमा जम्मा ६०२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

‘दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ,’ नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विक भन्छन्।

नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन् । यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन् । अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन ।

‘गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र शुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो,’ तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भने ।

उनका अनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त हुने गर्छ । ‘शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियन शुरु हँुदै थियो तर कोरोना महामरीले शुरु हुनै पाएन,’ उनले भने, ‘अहिले कोभिड–१९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ, अब शैक्षिक सत्र सकिने समय भइसकेको छ, केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर निस्कनै मुस्किल हुन्छ ।’

केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन् ।

आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन् ।

सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताए।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो ।

हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ ।

अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन् ।

कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया