गण्डकी भेलामा रायमाझीले भने– ‘भद्रगोल गर्नु प्रचण्डको पुरानो रोग’

समाधान संवाददाता, पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जितेर प्रधानमन्त्री बन्न चुनौती दिएका छन् ।
प्रचण्ड जनताको मत लिन डराएको भन्दै उनले जनमतलाई विश्वास नगरेको बताए ।
गण्डकी प्रदेशबाट मनोनित नेकपा केन्द्रीय सदस्यको भेलामा बुधबार रायमाझीले यस्तो बताएका हुन् ।
‘जनादेशमा जाने कुरामा उहाँहरु किन डराएको ? जनतामा किन विश्वास नगरेको ? जनताको मत जितेर प्रधानमन्त्री बन्ने आँट गर्नुहोस् कमरेड प्रचण्ड,’ उनले भने ।
नेकपा प्रचण्ड–माधव समूहले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको प्रति उनले कटाक्ष व्यक्त गरे ।
ओलीलाई अध्यक्षबाट हटाएर महाधिवेशनमा ओलीसँगै पराजित भएका नेतालाई अध्यक्ष बनाइनु हाँस्यास्पद रहेको उनको भनाइ थियो । ‘विधि र पद्धतिको कुरा गर्ने माधव नेपाललाई अध्यक्ष हुन किन अप्ठेरो नलागेको ?’ उनी प्रश्न गर्छन् ।
आफ्नो स्वार्थका लागि हरेक ठाउँमा अस्तव्यस्तता सिर्जना गर्नु प्रचण्डको पुरानो रोग भएको उनको भनाइ छ ।
‘हरेक ठाउँमा भद्रगोल गर्नु प्रचण्डको रोग नै हो, त्यो त हामी भोगेर र व्यहोरेर आएको हो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीज्यूलाई पनि उनको भद्रगोल व्यवहारकै कारण जनादेशमा जानुको विकल्प थिएन, अन्यथा मुलुक अराजकतामा जाने थियो ।’
३ दशकदेखि आफूलाई टीका लगाएर अध्यक्ष बनाएको र महाधिवेशन सामना गर्न प्रचण्डले डर मान्ने गरेको उनको आरोप थियो ।
रायमाझीले सबै केन्द्रीय सदस्यलाई ढुक्क भएर चुनावमा केन्द्रित हुन आह्वान गरे ।
‘नेकपा र चुनाव चिह्न सूर्य केपी शर्मा ओली नेतृत्वको पार्टीकै हुन्छ, ढुक्क भएर उच्च आत्मबलका चुनावमा लाग्नुुस्,’ उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले सबै नेताहरुले ओलीलाई विश्वास गर्नुपर्ने बताए ।
ओलीले देश विकासको खाका तयार गरेकाले उनको विश्वास गर्नुपर्ने उनको तर्क थियो ।
‘सुखी नेपाली, समृद्ध नेपालको स्पष्ट नीति, खाका र दृष्टिकोणकासाथ अगाडि बढेको राजनेता केपी ओली हो,’ उनले भने, ‘उहाँलाई विश्वास गरेर अघि बढौं ।’
समृद्धि, लोकतन्त्र र राष्ट्रवादको नायक केपी ओली नै भएको भन्दै उनकै नेतृत्वमा देशको सपना पुरा हुने उनको विश्वास थियो ।
आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने षडयन्त्रकारीहरुको योजना असफल भएको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको भनाइ थियो ।
‘देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्नेहरुको षडयन्त्र असफल भएको छ । यो सत्य जनताको बीचमा लगौँ,’ उनले भने ।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले आफूहरुले दुईतिहाई बहुमत ल्याउने र जनताले प्रचण्ड–माधव समूहलाई आफ्नो मतद्वारा सजाय दिने विश्वास प्रकट गरे ।
नेकपा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने पुराना र नयाँ मनोनित केन्द्रीय सदस्यहरुको विशेष भेला काठमाडौंमा भएको थियो । भेलाको अध्यक्षता युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरेका थिए ।
भेलामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् । भेलाको सञ्चालन गोविन्दबहादुर नेपालीले गरेका थिए ।
तपाईको प्रतिक्रिया