संसदमै मुख्यमन्त्रीलाई मन्त्रीले भनेः वैशाखमा चुनाव लड्ने हो, मेरो ठाउँमा मन्त्री खोज्नुस्, भिडिओसहित

समाधान संवाददाता २०७७ पुष २८ गते २०:११

अनुप पौडेल, पाेखरा

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि वैशाखमा मध्यावधि निर्वाचन घोषणा भइसकेको छ । नेकपा औपचारिक रूपमा नफुटे पनि नेताहरू दुई समूहमा विभाजित छन् ।

केन्द्र विवाद गण्डकी प्रदेश मन्त्रिमण्डलमा छिरिसकेको छैन । यहाँ केन्द्रको विवादलाई लिएर ओली पक्षीय मुख्यमन्त्री गुरुङ अर्को समूहका मन्त्रीलाई हटाउने योजनामा छैनन् ।

गण्डकी प्रदेशमा कृषिमन्त्री लेखबहादुर थापा र कानुनमन्त्री हरिबहादुर चुमान प्रचण्ड पक्षका मन्त्री हुन् । दुवैलाई पद छाड्न मन छैन र मुख्यमन्त्री पनि हटाएर अगाडि बढ्ने पक्षमा छैनन् । तर, गण्डकीका एक मन्त्रीले प्रदेश मन्त्रालय छोडेर केन्द्रमा जाने इच्छा देखाएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मंगलबार संसदको विशेष अधिवेशनमा बोल्दै आफू संघमा जाने भन्दै आफ्नो विकल्प खोज्न मुख्यमन्त्रीलाई आग्रह गरेका हुन् । उनले संसदबाटै पार्टी प्रदेश इन्चार्ज एवं मुख्यमन्त्रीसँग वैशाखमा हुने चुनावका लागि टिकट मागे ।

Advertisement

मन्त्री लम्सालले पहिला ९० सिट ल्याएको नेकपाले अब १२० सिट जित्ने दाबी गरे । ‘जनताको बीचमा जाँदा फेरि पनि केपी ओलीले जित्ने निश्चित छ । पहिला ९० सिट हो, अब १२० सिट आउँछ,’ उनले भने, ‘पहिला ३३ लाख भोट हो, अब ५० लाख भोट आउँछ ।’

प्रदेश सरकार पुनगर्ठन भएको भए मन्त्री लम्साल अहिले सांसद मात्रै हुन्थे । किनकि उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवर्तन गर्ने मन्त्रीहरूको सूचीमा थिए । काम हेरेर दुई वर्षमा मन्त्रिपरिषद् हेरफेर गर्ने बताएका मुख्यमन्त्री गुरुङपछि हटेकाले पर्वतका लम्साल अहिलेसम्म मन्त्री छन् ।

मन्त्रीले संसदमै प्रदेश छोडेर संघमा जाने बताएकोमा जसपा सांसद धनमाया लामा पोखरेलले आपत्ति जनाएकी छन् । ‘बहालवाला मन्त्रीज्यूले राजीनामा दिएर संघको चुनाव लड्न जाने घोषणाले जनमतको घोर अपमान भएन र ?,’ सांसद लामाले फेसबुकमा स्टाटस लेख्दै आपत्ति जनाएकी छन् ।

मन्त्री लम्सालले संसदमा के भनेका थिए ?

जनताको बीचमा जाँदा फेरि पनि केपी ओलीले जित्ने निश्चित छ । पहिला ९० सिट हो, अब १२० सिट आउँछ । पहिला ३३ लाख भोट हो, अब ५० लाख भोट आउँछ । आज कान्तिपुरले मन्त्रीहरू जनताको बीचमा, सिंहदरबार सुनसान भनेर लेखेछ । चुनाव आउँदै छ, को सिंहदरबारमा बस्छ ?

माननीय मुख्यमन्त्रीज्यू, वैशाखमा चुनाव लड्ने इच्छा छ, म संघमा जाने हो, हिजो पनि संघमै थिएँ । यहाँ कसलाई ल्याएर राख्ने हो, कसलाई ल्याएर मन्त्रालय चलाउने हो । मन्त्री खोज्नुस् ।

तपाईं मेरो पार्टीको इन्चार्ज पनि हो, टिकट दिनुस् । म आजदेखि यो संसदमा आउँछु कि आउँदिनँ, चुनाव जितेँ भने माथि नै जाऊँला । म गइनँ भने पनि केपी ओलीले सही गरेको मान्छे त्यहाँ जान्छ, हामीले जिताउनुपर्छ ।

भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया