विद्यार्थीलाई ३६ लाख रुपैयाँ छात्रवृत्ति बाँड्दै पाल्पाली समाज

समाधान संवाददाता २०७७ फागुन १ गते ७:००

समाधान संवाददाता, पोखरा

Advertisement

पाल्पाली समाज पोखराले कर्मभूमि कास्कीका गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति बाँड्ने भएको छ ।

पूर्वमन्त्री हरिप्रसाद पाण्डेले स्थापना गरेको मातृसेवा प्रतिष्ठानको आर्थिक सहयोगमा समाजले कास्कीका ५ स्थानीय तहका ७२ वडाका १/१ जना विद्यार्थीलाई कर्मभूमि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

समाजले छात्रवृत्तिका बारेमा पोखरा महानगरपालिका र ४ गाउँपालिका पदाधिकारीसँग विभन्न चरणमा अन्तक्रिया गरेको छ ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले कास्कीका सबै वडाका १/१ विद्यार्थीले जनही ५० हजारको दरले ३६ लाख बराबरको छात्रवृत्ति पाउने जानकारी दिए । उनले कास्कीका दलित विद्यार्थीले ३ लाखको छात्रवृत्ति पाउने बताए ।

Advertisement

स्वास्थ्य, चिकित्साशास्त्र, इञ्जिनियरिङ, कृषि, भेटनरी र होटल म्यानेजमेन्ट लगायतका विषयमा अध्ययनका लागि छात्रवृत्ति पाउने छन् । कास्कीमुलघर भएका विद्यार्थीलाई दिइने छात्रवृत्तिमा छात्रालाई प्राथमिकता दिइनेछ ।

छात्रवृत्तिका लागि विद्यार्थीले फागुन महिनाको पहिलो हप्तासम्ममानिवेदन दिन पाउने छन् । विद्यार्थीले आफू गरिब र जेहेन्दार भएको प्रमाण स्वरुप विद्यालय, कलेज र वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष घिमिरेले बताए ।

‘गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं,’ अध्यक्ष घिमिरेले भने, ‘समाजको छात्रवृत्तिले कास्कीका विद्यार्थीलाई शैक्षिक सहयोग पुग्नेछ ।’

छात्रवृत्ति पाउने विद्यार्थीले नेपालको जुनसुकै ठाउँमा पनि अध्ययन गर्न सक्ने छन । अध्यक्ष घिमिरेले छात्रवृत्तिको पहिलो किस्ता पाएर अध्ययन गरेका विद्यार्थीले बीचैमा पढ्न छोढे तथा अनुत्तिर्ण भएमा दोस्रो किस्ता नपाउने बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले छात्रवृत्तिलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने बताए ।उनले आर्थिक अभावले उच्च शिक्षा पढ्न नपाएका गरिब तथा तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिले राहात पुग्ने उल्लेख गरे ।

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाको वडातहको छात्रवृत्ति कार्यक्रमलाई सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया