मुख्यमन्त्री पौडेल र राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ ।
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन्।
‘त्यसबेला फरक परिस्थितमा अविश्वास प्रस्ताव दिइएको थियो। अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेका हौं,’ उनले भनिन्।
उनीहरूले त्यसबेला पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए।
पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।
गत फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो। माओवादी केन्द्रबाट कट्टेल हालै संसदीय दलको नेता चयन भएका छन्।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका सबै सांसदले हस्ताक्षर फिर्ता गरेका छन्।
प्रदेश सभामा सामूहिक पत्र पठाउँदै एमालेका १६ जना सांसदले अविश्वास प्रस्तावमा गरेको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
यसअघि तत्कालीन नेकपाका ३७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। त्यसपछि ६ जनाले फिर्ता लिँदै मुख्यमन्त्रीलाई समर्थन गरेका थिए।
मुख्यमन्त्रीले यसपटक मन्त्रिपरिषद विस्तार गर्दा दल माओवादी त्यागेर एमाले प्रवेश गरेका, गुट बदलेर हस्ताक्षर फिर्ता लिएकाहरूलाई छानीछानी मन्त्री बनाएका थिए।
माधव नेपाल पक्षको स्थायी कमिटीले अविश्वास प्रस्ताव फिर्ता लिने जनाएपछि प्रदेश १ मा सांसदहरूले हस्ताक्षर फिर्ता गरेको जनाएका छन्।
तपाईको प्रतिक्रिया