विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखकाे सचिवालयमा समावेदन दर्ता, नेताहरुले प्रदेश प्रमुख भेट्न पाएनन्

समाधान संवाददाता, पोखरा ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरे लगत्तै अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्ता दलहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष गण्डकी प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै समावेदन गरेका छन् ।
सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता दल समाजवादी पार्टीका अधिकांश सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमै पुगेर विशेष अधिवेशन माग गरेका हुन् ।
यसको नेतृत्व प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । त्यस्तै माओवादी केन्द्रको तर्फबाट हरिबहादुर चुमान र जसपाको तर्फबाट हरिशरण आचार्यको नेतृत्वमा समावेदन पत्र दर्ता गराइएको छ ।
टोलीले प्रदेश प्रमुखलाई भेट्ने भनिएपनि प्रदेश प्रमुख शेरचन कार्यालयमा उपस्थित नभएकाले सचिवालयमा पत्र दर्ता गराएर फर्किएका छन् । प्रदेश प्रमुखले मलाइ भेट्न दुख नपाउनुस, सचिवालयमा दर्ता गरेर जानुस भन्ने सन्देश दिएकाे एक सांसदले बताए ।
‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने अधिकांश सदस्य उपस्थित थियौं ।’ कांग्रेस सांसद कुमार खड्काले समाधानसँग भने, ‘अविश्वासको प्रस्तावमा जे भाषा उल्लेख छ, उही भाषा र कारण उल्लेख गर्दै विशेष अधिवेशन माग गरेका छौं ।’
सांसद खड्काले अविश्वासको प्रस्ताव छल्न रातारात चालु अधिवेशनको अन्त्य गरिएको भन्दै अविश्वासको प्रस्तावमा उठाइएका विषय वस्तु गम्भीर भएकाले यथाशिघ्र विशेष अविधेशन माग गरिएको समाधानलाई बताए ।
तपाईको प्रतिक्रिया