एमाले स्थायी कमिटीमा माधव पक्ष समेटिएनन्

गण्डकीबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमात्रै
समाधान संवाददाता
काठमाडौं
नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।
बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।
केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरूङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष गौतम र महासचिव ईश्वर पोखरेलसहित यी नेताहरू रहने छन् ।
अध्यक्ष ओलीले नेकपा कालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पारेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको जानकारी बैठकलाई गराएका छन् । एक केन्द्रीय सदस्यका अनुसार ओलीले माधव नेपाल र योगेश भट्टराईसँगको कुराकानीमा नेपाल एकताप्रति इमान्दार नदेखिएको बताएका छन् ।
ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन ।’
तपाईको प्रतिक्रिया