सांसद शाहीलाई मुख्यमन्त्रीले पनि भेट्न पाएनन्

समाधान संवाददाता २०७८ वैशाख १५ गते २०:२७

पोखरा

Advertisement

अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री र मन्त्रीले समेत भेट्न पाएका छैनन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ शाही भर्ना भएको चरक अस्पताल पुगेर पनि भेट्न नपाई फर्किएका हुन् ।

चरक अस्पतालका निर्देशक कपिल पोखरेलले शाही कोरोना संक्रमित भई आइसियुमा रहेको हुँदा यस्तो बेला भेट्न नमिल्ने भन्दै मन्त्रीद्वयलाई फर्काइदिएका थिए । यसअघि कांग्रेस र जनमोर्चाका नेतााहरूले पनि सांसद शाहीलाई भेट्न पाएका थिएनन् ।

‘संक्रमित बिरामीलाई भेट्न मिल्दैन, यो कुरामा तपाईंहरुले बुझिदिनोस्,’ पोखरेलले मन्त्रीद्वयलाई भनेका थिए, ‘उहाँलाई देखिएको नयाँ भेरियन्ट हो, उहाँको स्वास्थ्यमा कमी नआउने गरी उपचार गर्छाैं ।’

Advertisement

सांसद शाही बुधबार दिउँसो अस्पताल भर्ना भएका थिए । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा बुधबारै संसदमा मतदानको कार्यसूची थियो । तर शाही अनुपस्थित हुने पक्का भएपछि सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगित गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया