‘पाठ्यक्रममा मुक्तक राख्न माग’

समाधान संवाददाता २०७९ वैशाख ७ गते १४:००

पोखरा l
मुक्तक मञ्च केन्द्रीय समितिले विद्यालयदेखि विश्वविद्यालय तहको पाठ्यक्रममा मुक्तक समावेश गर्ने माग गरेको छ । ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ले आइतबार दवाबमुलक मुक्तक वाचनसहित जिल्ला शिक्षा समन्वय इकाइ समिति कास्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

इकाइ प्रमुख डा. नारायणप्रसाद सुवेदीले ‘मुक्तक छोटो, प्रभावकारी र निकै लोक प्रिय विधा भए पनि पाठ्यक्रममा छुटेको बताए । मुक्तक मञ्चले यसरी ध्यानाकर्षण गराइदिएको उनले धन्यवाद दिए । उनले भने, ‘अबको पाठ्यक्रम तयार गर्दा यो विधा नछुट्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’

पछिल्लो समय साहित्यका विभिन्न विधालाई विभिन्न तहका पाठ्यक्रम र पठ्यपुस्तकमा समावेश गरी अध्ययन अध्यापन गरिँदै आएको छ । मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्यले मुक्तकले नेपाली भाषा र साहित्यप्रेमी माझ लोकप्रियता पाएको भए पनि अध्ययन अध्यापनमा महात्वा नपाएको गुनासो गरे ।

काव्यको लघुतम विधाका रुपमा सामान्य चिनारीसहित पाठ्यक्रममा समावेश गरिएको भए पनि मुक्तककै सिद्धान्त तथा मुक्तकलाई भने समावेश गरिएको छैन । अब विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले अभियान चलाइएको अध्यक्ष आचार्यले बताए ।

अभियानलाई प्रभावकारी तुल्याउनका निम्ति पछिल्लो समय दवाबमुलक कार्यक्रम भइरहेको संयोजक नवीन भण्डारी बताउँछन् । कार्यक्रममा मुक्तक मञ्चका सहसचिव श्रद्धा आचार्य, भरत पोखरेल, सदस्य गौरव ढुंगाना, सौगात तिमिल्सिना एवं अभियानका सदस्य विष्णु सुवेदी, सम्पूर्ण पौडेल, मधुसूदन न्यौपाने, एसपी असफल लगायतले मुक्तकलाई पाठ्यक्रममा समावेश गर्न माग गरे ।

Advertisement

तपाईको प्रतिक्रिया