कृषि
मुस्ताङको घीलिङमा ४ करोडको सिचाई आयोजना,६८ घरधुरी लाभान्वित हुने
घीलिङ सिंचाई आयोजनाको सम्झौता अवधि २०८० साल असार ६ गतेसम्म छ


जोमसोम–
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड –३ घीलिङ गाउँ कृषि र पशुपालनको प्रचुर सम्भावना भएको गाउँ हो ।घीलिङ गाउँमा ६८ घरधुरी छन् । गाउँका सबैले पशुपालन र कृषि व्यवसाय अपनाएका छन् ।
कुल ४५० जना जनसंख्या रहेको उपल्लो मुस्ताङको घीलिङ गाउँमा १२३ दशमलव २४ हेक्टर खेतीयोग्य जमिन छ । बर्सेनि एकबाली मात्र खेतीपाती हुने घीलिङ गाउँमा स्याउ,खुर्पानी,उवा,फापर,गहु,मकै,आलु ,जौ र हरियो सागसब्जी उत्पादन हुने गर्छ । तल्लो मुस्ताङ देखि उपल्लो मुस्ताङका किसानले आलु,उवा,फापर आदीको बिउ चाहिएमा घीलिङबाटै लैजाने गर्छन् ।
उर्वर भूमी र अनुकुल हावापानी भएकाले घीलिङमा उत्पादन हुने कृषि उपज सामाग्री र त्यसको महत्व उक्तिकै छ । मुस्ताङका कतिपय किसानले यहाँबाट बिउ खरिद गरी आफ्नो खेतबारीमा लगाउने गरेको पाईन्छ । घीलिङ गाउँ जिल्लाकै च्यांग्रा पालनको प्रसिद्ध हव पनि हो ।

कृषि र पशुपालनले प्रचुर सम्भावना रहेपनि उपल्लो मुस्ताङको घीलिङ गाउँमा पर्याप्त सिचाई सुविधा नहुँदा त्यहाका किसानले वर्षौदेखि निकै कष्ठ झेल्न बाध्य छन् । गाउँ नजिकैको घीलिङ खोलाको पानीले त्यहाको खेतीयोग्य जमिनमा सिञ्चित गर्न पुग्दैन । सिंचाईको श्रोत अभाव हुँदा राम्ररी अन्नबाली सप्रिन समेत पाउँदैन । घीलिङ खोलाको पानीको श्रोत कम छ । खोलाको पानीले जमिन सिञ्चित गर्न स्थानीय किसानले ४ वटा पोखरी निर्माण गरी रातभरी आउने पानी संकलन गर्छन् । त्यो पोखरीमा जम्मा भएको पानी भाग लगाएर आलैपालो गरी आआफ्नो खेतबारीमा सिचाई गर्छन् ।यस्तै चरनक्षेत्रमा छाडिएका पशुचौपायालाई समेत पानी खुवाउन समस्या पर्दैआईरहेको छ ।
उपल्लो मुस्ताङको घीलिङ गाउँले भोग्दै आईरहेको सिंचाई समस्यालाई मध्यनजर गर्दै गतवर्ष लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा घिलिङ सिंचाई आयोजना संञ्चालनमा आएको हो ।गण्डकी प्रदेश अन्तर्गत खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत घीलिङ सिंचाई आयोजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला राजमार्गदेखि पञ्चिम करिव ६÷७ किमी माथि उचाईको भेना खोलाबाट पाईपलाईन मार्फत सर्कुलर गर्ने गरी ड्याम निर्माणको काम भईरहेको जनाईएको छ ।घीलिङ सिचाई आयोजनाको कुल लागत भ्याटसहित ४ करोड ३४ लाख ८० हजार छ भने चालु वर्ष सिंचाई आयोजनाका लागि १ करोड ६४ लाख बजेट विनियोजन भएको थियो ।२०७८ साल असार ४ गते सम्झौता भएको घीलिङ सिंचाई आयोजनाको सम्झौता अवधि २०८० साल असार ६ गतेसम्म छ ।
घीलिङ सिचाई आयोजना निर्माणको जिम्मा थोरुङ÷बुद्ध हिमाली जेभीले लिएको र हालसम्मको भौतिक प्रगती ३० प्रतिशत रहेको खानेपानी जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख कल्याण पौडेलले जानकारी दिए ।घीलिङको खेतीयोग्य जमिन सिञ्चित गर्नका लागि भेना खोलादेखि घीलिङ गाउँको खोला नजिक ल्याउन ५ किमी एचडिपिई पाईप लाईन र ६८४ मिटर ड्रेनसहितको कुलो निर्माणको काम भईरहेको निमित्त कार्यालय प्रमुख पौडेलले बताए । अहिले घीलिङ सिंचाई आयोजनाको काममा झन्डै ३ दर्जन जनशक्ति परिचालन भईरहेको र तोकिएकै समय सम्पन्न गर्ने गरी काम अघि बढेको निमित्त कार्यालय प्रमुख पौडेलको भनाई छ ।
‘सिचाईको काम तिब्र गतीमा भईरहेको छ,हाम्रो कार्यालयको प्राविधिक टोलीले फिल्डमा पुगेर पटक÷पटक अनुगमन गरिरहेका छन् ,निमित्त कार्यालय प्रमुख पौडेलले भने,यो जिल्लाकै ठुलो सिचाई परियोजना हो,यसले घीलिङ गाउँका ६८ घरधुरी सिचाई सुविधाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।’
यस्तै,लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले घीलिङमा सिंचाई सुविधा पर्याप्त नहुँदा

स्थानीयले सिचाई अभावको समस्या झेल्नु परेको सुनाए ।‘गाउँमा सिचाईको ठुलो आयोजना भित्रिएको छ ,यो हाम्रो लागि खुसीको कुरा हो,वडाध्यक्ष गुरुङले भने,‘आयोजना सम्पन्न भएपछि घीलिङ गाउँको कृषि मुहार फेरिने निश्चित छ ,सबैले सिचाई सुविधा प्राप्त गरी कृषि उत्पादन क्षमता वृद्धि गर्न टेवा पुग्नेछ ।’
वडाध्यक्ष गुरुङका अनुसार अहिले घीलिङबासीले रातभरी जाग्राम बसेर पोखरीमा पानी संकलन गरी कामचलाउ सिंचाई गर्दैआईरहेको बताए ।
फोटो क्याप्सन ः

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया