पोखरा विश्वविद्यालयकाे शैक्षिक अनुसन्धान कार्यशाला

समाधान संवाददाता २०७९ भदौ २१ गते १४:१८

पोखरा ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न तीन दिने कार्यशाला आयोजना गरेको छ । विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त ६६ वटा महाविद्यालयका रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) मा आबद्ध प्राध्यापकका लागि लक्षित छ । ‘स्ट्रिमलाइनिंग एकेडेमीक रिसर्च एण्ड इनोभेसन इन पोरखा यूनिर्भसिटी’ कार्यशाला भएको हो ।

Advertisement


पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालय अनुसन्धान गर्ने थलो भएकोले गुणस्तरीय शिक्षाका लागि पठनपाठन र अनुसन्धान सँगसँगै लैजानुपर्नेमा जोड दिए । उनले अनुसन्धानलाई व्यवस्थित गर्न विश्वविद्यालयले आफ्ना महाविद्यालयहरूमा अनुसन्धानात्मक सेलहरू गठन गर्नुका साथै यूएनडिपि लगायतका संस्थाहरूसँग साझेदारी गर्दै शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताए ।

कार्यक्रममा पोलिसी रिसर्च इन्स्टिच्यूट, नेपालका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न र देशलाई समृद्धतर्फ डोर्‍याउन राज्यले अनुसन्धानलाई प्रबर्धन गर्नुपर्ने बताए । उनले बिना लगानी अनुसन्धान नहुने बताउँदै यसलाई नीति निर्माणतहबाटै कसिलो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै यूएनडिपि नेपालका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबेले दिगो बिकासका लक्ष्यहरू हासिल गर्न यूएनडिपिले शिक्षा लगायत नेपालका विभिन्न क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्दै आएको बताए । उनले पोखरा विश्वविद्यालयसँग शिक्षा, स्वास्थ्य पर्यटन, मौसम परिवर्तनका साथै सिमान्तकृत वर्गको उत्थानका लागि अझै हातेमालो गर्दै अगाडि बढ्न यूएनडिपी इच्छुक रहेको बताए ।


कार्यशालाको पहिलो दिनमा नेपालको उच्चशिक्षाको रूपान्तरणका बारेमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्राडा नमराज धामीले प्रस्तुतिकरण गरे । रोडम्याप फर रिसर्च एण्ड इनोभेशन इन स्टेम इन नेपालका सन्दर्भमा नेपाल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका वरिष्ठ बैज्ञानिक डा टिस्टा प्रसाई जोशी, प्रोमोटिङ्ग एकाडेमिक रिसर्च एण्ड इनोभेशन इन नेपालिज युनिभर्सिटीका सन्दर्भमा क्यालिटी एस्यूरेन्स एण्ड एक्रिडिएशन, यूजिसी नेपालका निर्देशक डा ऋषिकेश पाण्डे र इथिक्स एण्ड इन्टिग्रिटी इन हेल्थ रिसर्च एण्ड इनोभेशनका सन्दर्भमा नेपाल हेल्थ रिसर्च काउन्सिल, काठमाडौंका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले प्रस्तुतिकरण गरे ।

Advertisement


कार्यशालाको दोस्रो दिनमा रिसर्च राइटिङ्ग एण्ड पब्लिसिङ्गमा टेक्निक्स, इथिक्स इन्टिग्रिटीको सन्दर्भमा सेन्ट्रल डिपार्टमेन्ट अफ केमिष्ट्रि, त्रिभुवन विश्वविद्यालयका प्राडा निरञ्जन पराजुली र रिसर्च फन्डिङ्ग एण्ड कोलाबोरेशनका सन्दर्भमा गण्डकी प्रोभिन्सियल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक डा ढाकाराम भण्डारीले प्रस्तुतिकरण गर्नेछन् ।

साथै कार्यशालाको अन्तिम दिन भदौ २२ गते दि बेन्चमार्कस् अफ रिसर्च एण्ड इनोभेशन इन यूनिभर्सिटीका सन्दर्भमा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका पूर्व डीन प्राडा पुरूषोत्तम बस्नेतले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । पहिलो, दोस्रो र तेस्रो दिनमा सहभागिहरूबीच सम्बन्धित विधामा छलफल हुने कार्यक्रम छ । कार्यशालाको सञ्चालनमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उपप्राध्यापक पूजा भण्डारी छन् ।

तपाईको प्रतिक्रिया