घान्द्रुकमा बौद्धमार्गीका लागि छुट्टै स्कुल

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोड लागतमा स्कुल निर्माण हुने भएको हो ।
सो विद्यालय आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कामअघि बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए । उनका अनुसार १० रोपनीमा विद्यालय निर्माण हुनेछ । विद्यालयसँगै संग्रहालय, चमेना गृह, छात्राबास, किचन तथा डाइनिङ हल, (छम) गुफा बस्ने कुटी, मेडिटेशन र पुजा गर्ने हल र स्टुपासमेत निर्माण हुने छन् ।
गुप्ती गुरुङको अगुवाईमा निर्माण हुने विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंका चन्द्रसिङ गुरुङ र लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ, रुपकुमारी गुरुङ, खुसीमान गुरुङ, चन्द्र गुरुङ र हङ्कङ निवासी विश्वसम गुरुङको परिवारले १० रोपनी जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले बताए ।
‘सामाजिकमात्रै नभई धार्मिक काममा आफ्नो जग्गा दान गर्नु सामान्य विषय होइन,’ उनले भने, ‘उहाँहरुले पाल डाकार छयोईदुब लीङ विद्यालयका लागि १० रोपनी जग्गादान दिनुभएको छ । यो एउटा उदाहरणीय कार्य हो ।’ विद्यालय निर्माणको जिम्मा लिएका धर्मगुरु गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे ।
‘मानिस मरेर गए भएको सम्पत्तिसँगै लैजान सक्दैन । मानव चोला सफल हुन सहयोगी हुनुपर्छ । मानव जातिको उत्थानका लागि शान्ति स्थापना हुनुपर्छ,’ उनले भने, ‘सबै मानव जाति एक भएमात्र मानवता कायम हुन्छ । सबै मानव एक हौं भन्ने सन्देश दिन विद्यालयको स्थापना गर्न लागेको हो ।’
उनले घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको बताउँदै विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान खेल्नेसमेत जनाए । ओप्लेंमा निर्माण हुने बौद्ध विद्यालयको शिलान्यासमा बिहीबार पूर्व राज्यमन्त्री प्रकाशबहादुर गुरुङले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमासमेत सहयोग पुग्ने बताए ।
‘घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रबिन्दु भएपनि विद्यार्थीहरु बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण छैन,’ उनले भने, ‘त्यस कारण बौद्ध शिक्षाको लागि सहर झर्ने क्रमलाई पाल डाकार छयोईदुब लीङ विद्यालयले रोक्नेछ ।’ उनले पछिल्लो समय विश्वमा हिंसा बढ्दै गएको बताउँदै बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे । ‘विश्वमा नै अहिंसा बढ्दै छ, सबैलाई शान्ति चाहिएको छ, त्यसैले बौद्ध धर्म र शिक्षाको महत्व बढ्दै छ, शान्तिबाट नै सबैको महिमा कायम हुन्छ,’ गुरुङले भने ।
अन्नपूर्ण गाउँपालिका ७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालय निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए । ‘समाज परिवर्तन गर्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । हत्या हिंसाले समाज परिवर्तन हुँदैन, शान्ति स्थापना गर्न सकेमात्र समाजको विकास हुन्छ,’ उनले भने, ‘त्यसैले शान्ति पाउन बौद्ध ज्ञान अनिवार्य छ ।’
विद्यालय निर्माणका लागि तमु प्हे ल्हु संघका भूतपूर्व अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे । अब विद्यालय निर्माण समितिले आर्थिक संकलनलाई तीव्रता दिने जनाएको छ ।
तपाईको प्रतिक्रिया