जनप्रियका विद्यार्थीकाे सञ्चारगृह अवलोकन

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसका स्नातक तह प्रथम वर्षमा अध्ययनरत आमसञ्चार र पत्रकारिताका विद्यार्थीले बुधबार पोखराका विभिन्न सञ्चारगृहको स्थलगत अवलोक भ्रमण गरेका छन् ।
छापा पत्रकारिताको अवलोकनका लागि समाधान राष्ट्रिय दैनिक पुगेका विद्यार्थीलाई सम्पादक केशवशरण लामिछानेले ‘प्रिन्ट इज प्रुफ’ को मर्म प्रस्ट्याउँदै समाधान दैनिक पोखराको पहिलो रङ्गिन पत्रिका भएको बताए ।
लामिछानेले भने, ‘हामी न्युज ब्रेकिङको पछि लाग्दैनौं सत्यतथ्यमा आधारित भएर राम्रो समाचार दिन्छौं ।’ विद्यार्थीका जिज्ञासालाई सम्बोधन गर्दै उनले भने, अरू सञ्चार माध्यममा नआएका खबर दिनु नै हाम्रो मूल ध्येय हो ।’ विद्यार्थीले समाधान राष्ट्रिय दैनिक समाचार कक्षको अवलोकन गर्दै मुद्रण प्रक्रियाको जानकारी लिएका थिए ।
क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताको सैद्धान्तिक ज्ञान लिएका विद्यार्थीले प्रयोगात्मक र व्यावहारिक सिकाइका लागि सिटी वान टेलिभिजनको समाचार कक्ष, दृश्य सम्पादन कक्ष र स्टुडियो अवलोकन गरेका थिए ।
टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले टेलिभिजनको महत्व, सञ्चालन प्रक्रिया र प्रभावका बारेमा विद्यार्थीलाई अवगत गराएकी थिइन् । श्रेष्ठले टेलिभिजनमा रुचि हुने विद्यार्थीका लागि काम गर्ने अवसरको ढोका खुल्ला रहेको जनाइन् ।
विद्यार्थीले विद्युतीय सञ्चारको श्रव्य माध्यम रेडियो अन्नपूर्णको कार्यक्रम प्रसारण प्रक्रिया अवलोकन गरे । स्टेसन म्यानेजर सञ्जय मल्लले निजी क्षेत्रबाट सञ्चालित रेडियो अन्नपूर्णको प्राविधिक कक्ष, समाचार कक्ष, रेकर्डिङ कक्ष र स्टुडियोको बारेमा जानकारी गराए । रेडियो अन्नपूर्णले पोखरा आसपासका क्षेत्रमा आफ्नो प्रभाव कायम गरेको उनले बताए ।
परिचय एड्भर्टाइजिङ प्रा.लि.का सञ्चालक सोबित बस्यालले आमसञ्चार र पत्रकारिता क्षेत्रमा विज्ञापन एजेन्सीको भूमिका नङ र मासुको जस्तै भएको हुँदा एजेन्सी सञ्चार जगत्को आर्थिक पाटोसँग जोडिएकाले यसको महत्व रहेको बताए ।
बस्यालले ‘विज्ञापन खर्च होइन लगानी हो’ भन्ने मान्यतालाई स्थापित गर्दै एक दशकदेखि विज्ञापन बजारमा क्रियाशील रहँदै गर्दा अनलाइन सञ्चार माध्यम स्थापना गरेको जनाए । उलने योग्यतासँगै क्षमता र प्रभावकारिता भएका पत्रकारलाई परिचयले अवसर दिने बताए ।
परिचय डटकमका समाचार संयोजक प्रभु अधिकारीले पत्रकारिताका विद्यार्थीलाई अनलाइन सञ्चार माध्यममा समाचार सामग्री कसरी सङ्कलन, लेखन, सम्पादन र प्रकाशन हुन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराए । अधिकारीले स्टुडियोमा श्रव्यदृश्य सामग्री तयारीका बारेमा प्रकाश पार्दै पत्रकारिता पेशालाई वाध्यता नभइ प्यासनमा लिँदा व्यक्तित्व विकास हुने जनाए ।
क्याम्पस प्रमुख लोकराज भण्डारीले सैद्धान्तिक ज्ञान लिएका विद्यार्थीलाई व्यावहारिक अभ्यासका लागि सञ्चारगृह अवलोकन गराउनु सह्रानीय भएको बताए । पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख वेदहरि तिमिल्सनाले ३० प्रतिशत प्रयोगात्मक ज्ञान र सिपका लागि अवलोकन भ्रमण फलदायी रहेको जनाउँदै धन्यवाद ज्ञापन गरेका थिए ।
सञ्चारगृहको स्थलगत अवलोकनमा १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । भ्रमणको सहजीकरण उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए ।
तपाईको प्रतिक्रिया