सेनाका प्रशिक्षार्थी पोखरा उद्योग वाणिज्य संघमा

समाधान संवाददाता २०७९ मंसिर १४ गते ११:४१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रलाई नाफामात्र कमाउने वर्गको रुपमा नहेर्न आग्रह गरेका छन् । लगानी गरेपछि नाफा–घाटा दुबैको जोखिम रहने उल्लेख गर्दै उनले राज्यले दिएको अधिकार प्रयोग गर्दै राज्यलाई कर तिरेर नाफा कमाउनु नै उद्यमशीलता भएको पनि बताए ।

Advertisement

नेपाली सेनाको सैनिक कलेज तथा स्टाफ तालिम केन्द्रले सञ्चालनमा ल्याएको सि.सं.२९ कमान्ड तथा स्टाफ तालिममा सहभागीसँग सोमबार भएको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । उनले पोखरा उद्योग वाणिज्य संघले गरेका विभिन्न सामाजिक कार्यको फेहरिस्त प्रस्तुत गर्दै भने, ‘पोखराको शिक्षा र भौतिक निर्माणमा संघले ठूलो योगदान गरेको छ ।’ उनले निजी क्षेत्र विकासको साझेदार भएको पनि जिकिर गरे ।

नेपाली सेनाका महासेनानी जयन्द्र केसीले तालिमको औचित्यमाथि प्रकाश पार्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३, विदेशी ६ जनासमेत ४२ जना प्रशिक्षार्थी तालिममा सहभागी रहेको बताए ।

सो अवसरमा सेनानी प्रसन पुनले नेपालको आयात निर्यातको अवस्था तथा निर्यात प्रतिस्थापनका उपाय के हुन्छन् भन्ने जिज्ञासा राखे भने मेजर सावित्री जिसीले आयातीत वस्तु नियन्त्रण र स्वदेशी उत्पादनको उपभोग बढाउन के गर्नुपर्ला भन्ने प्रश्न गरिन् ।

मेजर सन्तोष चन्दले नेपाली सेनाले आर्थिक समृद्धिको लागि निजी क्षेत्रसँग कहाँ सहकार्य गर्नसक्छ भन्ने जिज्ञासा राखेका थिए । मेजर राजविक्रम ठकुरीले बैंकको बढ्दो ब्याजदरले निजी क्षेत्रलाई पारेको समस्या, उमेश खड्काले सेनाले मुस्ताङमा संचालन गरेको ट्रायथलनले पर्यटनमा पुर्‍याएको सहयोग तथा सशस्त्रका डिएसपी आनन्द थापा मगरले विशेष आर्थिक क्षेत्र ( सेज) को स्थापनाबारे जिज्ञासा राखेका थिए ।

Advertisement

कार्यक्रममा सेनाको तर्फबाट मेजर वेदबहादुर खड्काले धन्यवाद र दीपेन्द्र भण्डारीले स्वागत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यको सञ्चालन रहेको कार्यक्रममासंघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने सुरक्षा निकायले सर्वप्रथम स्वदेशी उत्पादन उपभोग गर्नुपर्ने तर्क गरे । उनले सरकार र सरकारी निकायले व्यापार गर्ने नभएर निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने धारणा पनि राखे ।

तपाईको प्रतिक्रिया