प्याब्सन स्पोर्टस मिट जारी

समाधान संवाददाता २०७९ मंसिर २८ गते ११:३३

पोखरा ।
१७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत पोखरामा सिनियर, जुनियर मावि तह र प्लस टु (कक्षा ११–१२) तर्फका विभिन्न खेलकुद प्रतियोगिता जारी छन् । प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गत मंगलबार सिनियर र जुनियरतर्फ फुटबल, भलिबल, बास्केबल, एथलेटिक्स र टेबुल टेनिसका खेलहरु जारी रहेको स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले बताइन् ।

Advertisement

भलिबल, फुटबल, बास्केटबल, टेबुलटेनिस र एथलेटिक्सतर्फ अन्तिम चरणका खेल हुँदै

केही खेलका सेमीफाइनल र फाइनलका खेल बुधबार हुने तय छ । प्याब्सन कास्की अन्तर्गत जारी भलिबल खेलमा प्लस टु छात्रातर्फ प्रतिभा र पश्चिमाञ्चल फाइनलमा प्रवेश गरेका छन् । यता मावि तह छात्रा भलिबलको भने क्वाटरफाइनलको समीकरण पूरा भएको छ ।

मंगलबारको खेलमा रेन्बोले डायमन्डलाई २–१ ले, नेपाल आदर्शले स्टेप बाइ स्टेपलाई २–१ ले, ताराकुञ्जले नेसनल इन्भेन्टिभलाई २–० ले, टप्सले धवलागिरीलाई २–० को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइनलको यात्रा तय गरेका छन् । मावि छात्रतर्फको सेमीफाइनलमा नीलगिरी, सृजना, न्यू मोडल र धवलागिरी प्रवेश गरेका छन् ।

बास्केटबल प्लस टु छात्रातर्फको खेलमा प्रतिभा र भाष्कर उपाधिका लागि भिड्ने बास्केटबल खेलका संयोजक खिम गुरुङले बताएका छन् । प्रतिभाले मेरीगोल्डलाई २८–९ र भाष्करले केफलाई २०–४ को स्कोरमा पराजित गरेका छन् । तेस्रो स्थानका लागि पराजित दुवै टिम भिड्ने छन् ।

Advertisement

एथलेटिक्स प्लस टु छात्रातर्फ २ सय मिटर दौडमा बाल कल्याणकी सुदीक्षा घले प्रथम, सृजनाकी अंशु विक द्वितीय र टप्सकी सम्झना नेपाली भए । मावि छात्रा सटपुटतर्फ टप्सकी सम्पदा गुरुङ प्रथम, रेन्बोकी सृष्टि अर्मजा द्वितीय र फिसटेलकी कृष्टिना गुरुङ तृतीय भएका छन् ।

हाइजम्प छात्रातर्फ टप्स सविना खातुन मियाँ प्रथम, बेसलाइनकी दृष्टि मास्के द्वितीय, स्नो भ्युकी रिता रसाइली तृतीय भएका छन् । लङजम्पतर्फ शान्ति निकुञ्जकी दीपशिखा रानामगर प्रथम हुँदा बेसलाइनकी स्वस्तिका मल्ल द्वितीय र शिशुकल्याणकी तेजश्वी गुरुङ तृतीय बन्न सफल भए ।

प्लस टु छात्रतर्फ ८ सय मिटर दौडमा केफका विवेक परियार पहिलो, स्नो भ्युका सुशन घिमिरे दोस्रो र सृजनाका हेमन्त गुरुङ तेस्रो भएका छन् । छात्र हाइजम्पमा एक्स आर्मीका जोल तामाङ पहिलो, मनकामनाका दिलबहादुर पुन दोस्रो हुँदा ग्लोबल कलेजियटका आनन्द घले र लिटिल स्टेपका निशान तामाङले तेश्रो स्थान प्राप्त गरे ।

मावितर्फ छात्र–छात्राको टेबुल टेनिस खेल सुरु भएका छन् । डबल्स छात्रातर्फ सिर्जनाले टप्सविरुद्ध तथा ग्लोबलले केफसँग सेमीफाइनलमा भिड्नेछन् । छात्रतर्फ रेन्बोले ग्लोबलसँग र नेसनल इन्भेन्टिभले सिर्जनासँग सेमीफाइनलमा भेट पक्का गरेका छन् ।

सिंगल्सतर्फ भने पहिलो राउन्डका खेल जारी रहेको प्याब्सन कास्कीले जनाएको छ । सेमीफाइनल र फाइनलका खेल पोखरा रंगशाला टेबुल टेनिस कोर्टमा बुधबार हुने छन् ।
फुटबल सिनियर र जुनियरतर्फ क्वाटरफाइनल

विभिन्न खेल मैदानमा जारी सिनियर र जुनियर छात्र फुटबलमा क्वाटरफाइनलका समीकरण पूरा भएको प्रचारप्रसार समिति संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । शान्तिदीप खेल मैदानमा भएको खेलमा दुई विद्यालय खेलाडीका कारण प्रोटेस्ट लाग्दा खेल नै गुमाउन पुगेका छन् ।

प्रतियोगिताको न्यायिक समितिले छानबिनपश्चात मेट्रोपोलिटान र भ्यु पोइन्टलाई कारवाही गरेको छ । खेलमा मेट्रोपोलिटानले वेसलाइनलाई ३–१ ले पराजित गरेको थियो भने भ्यू पोइन्टले कुमुदिनीलाई २–० ले पराजित गरेको थियो । तर दुवै टिमविरुद्ध उजुरी परेपछि पराजित दुवै टिमले अन्तिम ४ मा स्थान बनाएका छन् । रेन्वोले स्नो भ्यूले ५–० ले र इडेनले मनकामनालाई २–० ले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरे ।

सिनियर छात्रतर्फको खेलमा समेत क्वाटरफाइनलका समीकरण पुरा भएको छन् । अन्तिम चारमा स्थान बनाएको स्नो भ्यूले बालोदयसँग र शान्तिदीपले मेरी गोल्डसँग भेट पक्का गरे ।

तपाईको प्रतिक्रिया