बास्केटबलमा प्रतिभा र टेबुलटेनिसमा ग्लोबलको जित

पोखरा ।
पोखरामा जारी १७ औं प्याब्सन स्पोर्टस मिट २०७९ अन्तर्गत मावि तह र प्लस टु (कक्षा ११–१२)तह जारी बास्केटबल र टेबुल टेनिसतर्फ फाइनल खेल सकिएका छन् । प्रतियोगिता अन्तर्गत नै भलिबल, फुटबल र एथलेटिक्सतर्फका फाइनल खेल बिहीबार हुने प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले जानकारी दिइन् ।
भलिबल, एथलेटिक्सतर्फका केही इभेन्ट र फुटबलको फाइनल खेल बिहीबार हुँदै छन् । बिहीबार स्पोर्टस मिटको ट्रफी विजेता विद्यालयको समेत टुंगाो लाग्नेछ । छात्र–छात्रा प्लस टु बास्केटबल प्रतिभा माविले दोहोरो उपाधि हात पारेको छ ।
फाइनल खेलमा छात्रतर्फ प्रतिभाले पारामाउन्टलाई ७४–२० को विशाल स्कोरले पराजित गर्दै उपाधि हात पार्दा बाल कल्याणले पश्मिाञ्चललाई ४९–२८ को स्कोरले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।
छात्रातर्फ प्रतिभाले भाष्कर माविलाई ३८–१६ को स्कोरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा मेरीगोल्डले केफलाई २८–९ ले पराजित गरेको छ ।
छात्रतर्फ प्रतिभाका निशान पुन उत्कृष्ट हुँदा छात्रातर्फ प्रतिभाकै विद्या गुरुङ घोषित भएकी छन् । प्रतियोगितामा प्रतिभाकी एरिना पुन मगर पारा माउण्टका अंकिट केसी सर्वाधिक स्कोरर हुन सफल बने ।
विजयी टिम तथा खेलाडीलाई गण्डकी प्रदेश शिक्षा कार्यालयका निर्देशक अम्विका आचार्य, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मा, प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले कप, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
टेबुलटेनिस खेलतर्फ छात्र–छात्रातर्फ डब्ल्सतर्फको फाइनल खेल भने ग्लोबल कलेजियटले दोहोरो उपाधि जितेको छ । छात्र डबल्समा ग्लोबलका पार्टनरद्वय जेनिथ ठकुरी र जेनिथ गुरुङको जोडीले फाइनलमा सिर्जनाका विशेष गौचन र रमि थापा मगरको जोडीलाई ८–११, ११–३, १३–११, ५–११ र १२–१० को सेटमा पराजित गरे ।
छात्रातर्फ ग्लोबल कलेजियटले नै जितेको छ । ग्लोबलका सुष्मि र मेलिनाको जोडीले सिर्जनाको प्रजिता र तृषाको जोडीलाई ६–११, ११–८, १३–११, ५–११ र ११–९ को सेटमा पराजित गरेको प्याब्सन कास्कीले जनाएको छ ।
टेबुल टेनिस छात्रा सिंगल्समा सिर्जनाकी तृष्णा पुन विजयी भएकी छन् । उनले फाइनलमा सगरमाथाकी सिजल बानियाँलाई ११–६, ११–७, ११–२ को सेटमा पराजित गरेकी हुन् । त्यसै गरी छात्रतर्फको फाइनल खेल ग्लोबलका कुशल केसीले लिटिल स्टेपका गौरव शेरचनलाई ९–११, ११–८, ११–५ र ११–४ को प्रतिष्पर्धात्मक खेलमा पराजित परे ।
फुटबलका फाइनल खेलमा शान्तिदीप र स्नो भ्यू भिड्ने भएका छन् । बुधबार भएको सेमीफाइनलमा शान्तिदीप र मेरी गोल्ड विचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा टुङ्गिएपछि नतिजा टाइव्रेकरमा धकेलिएको थियो ।
टाइ ब्रेकरमा शान्तिदीपले ५–४ ले खेल जित्दै फाइनलको यात्रा तय गरेको हो । त्यसै गरी स्नो भ्यूले बालोदयलाई ४–० को गोल अन्तरले पराजित गर्दै फाइनलका स्थान सुरक्षित गरेको छ ।
फुटबल जुनियरतर्फ रेन्वो र इडेन फाइनलमा भिड्ने भएका छन् । रेन्बोले बेसलाइनलाई टाइ ब्रेकरमा ३–१ ले पाखा लगाएको हो । अर्को सेमीफाइनलमा इडेनले कुमुदिनीलाई ३–० गोलले पराजित गरेको हो । फाइनल खेल बिहीबार पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया