प्रतिभा स्कुलमा फुड फेस्टिभल

समाधान संवाददाता २०७९ पुष १८ गते १२:५४

पोखरा ।
पोखरामा यति बेला धेरै महोत्सव चलिरहेका छन् । औद्योगिक व्यापार मेलादेखि सुन्तला महोत्सव हुँदै सडक महोत्सव यहाँ मेलाको रुपमा चल्ने नियमित गतिविधि हुन् ।

Advertisement

यिनै महोत्सवमा मिसिन आएको छ ‘प्रतिभा फुड फेस्टिभल’ । अरु सबै महोत्सव खुला रुपमा चलिरहँदा प्रतिभा फुड फेस्टिभल भने विद्यालय परिसरमा सञ्चालन गरिएको छ ।

पोखराको पालिखेचोकस्थित प्रतिभा माविले विद्यार्थीको क्षमता प्रस्तुत गराउने उद्देश्यसहित पहिलो पटक ‘प्रतिभा फुड फेस्टिभल’ आयोजना गरेको हो । आइतबार एक दिनका लागि आयोजना गरिएको यो फेस्टिभलको हिमान कास्की अध्यक्ष यामबहादुर रोकाले उद्घाटन गरे ।

विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार पहिलो पटक फुड फेस्टिभल आयोजना गरिएको हो । कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले व्यवस्थापनमा फुड फेस्टिभल आयोजना गरिएको थियो ।

‘विद्यार्थीलाई व्यवसायिक सीप सिकाउने र इभेन्ट व्यवस्थापन गर्ने तरिकाबारे ज्ञान दिलाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सापकोटाले भने, ‘विद्यार्थी आफैंले विभिन्न परिकार बनाउने र पाहुनाका लागि पस्किने अभ्यास गर्न पाउँदा विद्यार्थीमा आत्मविश्वास बढ्छ ।’

Advertisement

व्यावहारिक शिक्षाको विकसित रुपमा प्रतिभा फुड फेस्टिभल आयोजना गरिएको निर्देशक सापकोटाले बताए । ‘विद्यार्थीले नियमित अध्ययनको क्रममा विद्यालयमा अभ्यास गरेका हुन्छन् । तर व्यवहारमा लागु भएको हुँदैन । यस्तो फेस्टिभलले कम्तिमा विद्यार्थीको आत्मविश्वास बढ्ने ठानेका छौं,’ उनले भने ।

पोखरामा यतिबेला सडक महोत्सव चलिरहेको र त्यो महोत्सवले खानालाई महत्व दिइरहेकोमा प्रतिभाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको उनले बताए । विद्यालयले यसअघि विज्ञान प्रदर्शनी र बिजनेस प्लानका प्रस्तुतिका कार्यक्रम गरिसकेको छ ।

विद्यालय अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा भएको क्षमताबाहिर ल्याउन यस्ता कार्यक्रम नियमित रुपमा गर्नुपर्ने बताए । विद्यार्थीले पाठ्यपुस्तकको ज्ञानबाहेक बाहिरी ज्ञान पनि खोजी गर्ने क्रममा यस्ता कार्यक्रम प्रभावकारी बन्ने उनले बताए । ‘विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउन यस्ता फेस्टिभल महत्वपूर्ण हुन्छन्,’ उनले भने ।

हिसान कास्की अध्यक्ष रोकाले विद्यार्थीलाई व्यवहारिक शिक्षाको खाँचो रहेको बेला यस्ता प्रयोगात्मक अभ्यास निकै नै प्रभावकारी हुने बताए । ‘विद्यार्थीले राख्ने क्षमता पनि यस्ता कार्यक्रममा देख्न सकिन्छ । विद्यार्थीभित्र लुकेको क्षमता प्रस्ट्याउन यस्ता गतिविधिले निरन्तरता पाउनुपर्छ,’ रोकाले भने, ‘यस्ता अभ्यासमूलक कार्यक्रमले विद्यार्थीमा आत्मबल बढाउँछ ।’ नियमित सिकाइबाहेक प्रयोगात्म यस्ता अभ्यासले विद्यार्थीमा जोश। जाँगर पनि पलाउने रोकाले बताए ।

कक्षा ११ र १२ का विद्यार्थीले त्यो अवसरमा विभिन्न परिकार बनाएका थिए । विद्यार्थी आफैंले पाएको परिकार पाहुनाको रुपमा रहेका अरु सहभागिलाई खुवाउन पाउँदा विद्यार्थी दंग थिए । फुड फेस्टिबलमा खानाका साथै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि विद्यार्थीले गरेका थिए ।

तपाईको प्रतिक्रिया