भूमाफियाको सेटिङमा सुटुक्क पुल !

पृथ्वीनारायण क्याम्पसले आफ्नो हकभोगको जग्गामा थाहै नदिई पुल बन्न लागेकोमा आपत्ति जनाउँदै रोक्न माग गरेको छ

समाधान संवाददाता २०७९ पुष २२ गते १०:३४

पोखरा ।
पृथ्वीनारायण क्याम्पस परिसरबाट मोटरेबल पुल निर्माण गर्न लागिएपछि क्याम्पसले विरोध जनाएको छ । क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट पोखरा महानगरपालिका १ र ११ जोड्नलाई सेती नदीमाथि मोटरेबल पुल निर्माण गर्न लागिएको हो ।

Advertisement

पुल सेक्टर पोखरा कास्कीका योजना प्रमुख नवराज बास्तोलाले पुल निर्माण सुरु हुन लागेको जानकारी क्याम्पसलाई गराएका थिए । क्याम्पसले भोगचलन गर्दै आएको कि.नं. ८३३ बाट पुल बनाउन लागिएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न निर्माण हुन थालेकाले सो पुलका लागि निर्माणस्थलसम्म सामाग्री पुर्‍याउन बाटो माग्दै गत पुस १२ गते क्याम्पसलाई पत्र लेखेको थियो ।

त्यसको विरोध गर्दै क्याम्पसले बिहीबार पत्रकार सम्मेलनमार्फत माफियाको प्रभावमा परेर क्याम्पस परिसरबाट पुल निर्माण गर्न लागेको आरोप लगाएको छ । क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले भने, ‘पुल निर्माण गर्न लागिएको जग्गा क्याम्पसको हो, केही जग्गा क्याम्पसको नाममा नभए पनि हकभोग गर्दै आएका छौं ।’

पुल पुस २३ गते शिलान्यास हुने कार्यक्रम थियो । तर, क्याम्पसको विरोधले शिलान्यास रोकिएको छ । ‘त्यहाँबाट पुल बन्नु हुन्न भन्ने हाम्रो माग हो, मेयर साबले फोन गरेर शिलान्यास रोकिएको बताउनुभयो,’ क्याम्पस प्रमुखले भने ।

Advertisement

पुल निर्माण रोक्न र क्याम्पसको हितविपरीत काम नगर्न उनले आग्रह गरे । निर्माणाधीन पुल पर्ने जग्गा१ सय ६२ जनाको नाममा ३ सय १८ वटा कित्ताकाट भएको थियो । तर, सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरिदिएको थियो ।

उक्त जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रक्रियामा समेत अगाडि बढेकाले क्याम्पसकै रहेको क्याम्पस प्रमुख कोइरालाले दाबी गरे । उनले भने, ‘हामी विकास विरोधी होइनौं । पुल बनाउने हो भने क्याम्पसकै दर्ताको जग्गाबाट सहमति दिन सकिन्छ ।’

क्याम्पसलाई थाहै नदिई पुल निर्माण गर्नुमा भूमाफियाको चलखेल हुन सक्ने त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस एकाइ समितिका सभापति डा. लक्ष्मीशरण अधिकारीले आशंका गरे । भूमाफियाहरु बलियो भएर लागेको उनको आरोप छ । ‘पुल त कति चोटि धर्ना बसेर यहाँ चाहियो भनेर जनदबाब दिएर त पाइदैन । ५ सय मिटरको दूरीमा त्यत्रो पुल खुसुखुसु क्याम्पसलाई थाहै नदिइकन कहाँ कहाँबाट सेटिङ भएर आको हाम्ले बुझेम’, उनले भने ।

क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा वृतामा पाएको हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएको थियो । तर, जग्गाको मूल्यसँगै महत्व बढ्दै गएपछि २०४५ मा सोही परिवारबाट दर्ता छुट भनी कित्ताकाट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन हुने देखिएको छ ।

हाल क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी जग्गा छ । पुल निर्माणको विरोधमा भन्दा पनि क्याम्पसको नाममा नआएको जग्गा संरक्षण गर्न लागिएको कोइरालाले बताए ।

२०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस गण्डकी प्रदेशको मात्रै नभई मुलुककै अग्रणी शिक्षण संस्था हो । ५ वटा संकायका ३३ वटा विभाग र ३४ विषयमा झन्डै १५ हजार विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया