संस्कृत माविमा छात्रवृत्ति तथा न्यानो कपडा वितरण

पोखरा ।
गण्डकी प्रदेशकै पुरानो विद्यालय संस्कृत माध्यमिक विद्यालय भीमकालीपाटन पोखरामा मंगलबार छात्रवृत्ति तथा न्यानो कपडा वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ ले सुनौलो शिक्षा प्रोत्साहन शीर्षकमा सुरु गरेको छात्रवृत्ति संस्कृत माध्यमिक विद्यालयका १७ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ५ हजार रुपैयाँ नगद पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले वितरण गरेका थिए ।
लायन्स क्लब अफ पोखरा आँखीझ्यालको सहयोगमा ५० जना विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत वितरण गरिएको थियो । विद्यालयमा लामो समय कार्यरत रही अवकाशप्राप्त पूर्व प्रधानाध्यापक कृष्णप्रसाद देवकोटा र सरुवा भई गएका शिक्षक विष्णुप्रसाद भण्डारीलाई विद्यालयको तर्फबाट विदाई पनि गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता तथा पोखरा १ का वडाध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्य शिक्षक कलादेवी वरालको सञ्चालनमा भएको कार्यक्रममा लायन अग्नि भुसाल, प्रदीप भुजेल, दयाराम सापकोटा, दुर्गा सुवेदी, संस्कृत माध्यमिक विद्यालयका शिक्षक कलादेवी बराल, सहायक प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, समाजसेवी जवाहरलाल श्रेष्ठ, विद्यालयका शिक्षक श्रीकान्त सापकोटा, अवकासप्राप्त शिक्षक पूर्वप्रधानाध्यापक कृष्णप्रसाद देवकोटा, गुरुकुल सदस्य दामोदर रिमाल, विव्यस सदस्य ईश्वरीप्रसाद बास्तोलालगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरुले शैक्षिक व्यक्तित्व उपप्राध्यापक विष्णुप्रसाद अधिकारीको नेतृत्वमा पछिल्ला दिनमा विद्यालयले निकै प्रगति गरेको भन्दै विद्यालयको विकासका लागि यस्तै शैक्षिक व्यक्तित्वको नेतृत्व निरन्तर रहनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष सहारा प्रधानले संस्कृत माध्यमिक विद्यालय यस क्षेत्रकै ऐतिहासिक शैक्षिक धरोहर भएकाले विद्यालयको सर्वांगीण विकासका लागि आफुले सकेसम्मको योगदान गर्ने कुरामा जोड दिँदै आर्थिक रुपले विपन्न जेहेनदार विद्यार्थीहरुको शिक्षामा पहुँच पुर्याउन वडाले सुनौलो शिक्षा प्रोत्साहन छात्रवृत्ति सुरु गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुको नाताले सबै विद्यार्थीको अभिभावकत्व लिनुपर्ने र कसैको पनि हात रित्तो नबनाउने अभियानमा रहेको बताउँदै गुरुकुलको विनियम निर्माण र अक्षयकोषलाई १५ लाखबाट ४० लाख पुर्याउन विद्यालयको भौतिक निर्माण, आर्थिक पारदर्शिताका साथ विद्यालय सञ्चालनलाई विधिसंगत रुपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए ।
विसं १९५८ अक्षय तृतीयाका दिन भाषा पाठशालाका रुपमा स्थापित यो विद्यालय राजकीय प्रधान पाठशाला हुँदै २०२८ को राष्ट्रिय शिक्षा पद्धति योजनापश्चात् संस्कृत माध्यमिक विद्यालयका रुपमा रुपान्तरण भएको थियो ।
तपाईको प्रतिक्रिया