ओलम्पियाडमा प्रतिभा माविका अजरलाई स्वर्ण

समाधान संवाददाता २०७९ पुष २८ गते ११:५०

पोखरा ।
‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखे चोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका हुन् ।

Advertisement

प्रतिभा माविका निर्देशक किरण सापकोटाका अनुसार पदक विजेता गुरुङ कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थी हुन् । अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा गुरुङसहित विभिन्न २० वटा मुलुकका विद्यार्थी सहभागी थिए ।

२० वटा मुलुकका ३४ समूहका १ सय ५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङले स्वर्ण जितेका हुन् ।प्रतिस्पर्धामा ब्राजिल, क्यानडा, चीन, जर्मन, भारत, इजिप्ट लगायतका मुलुकका विद्यार्थीले भाग लिएका थिए ।
प्रतिश्पर्धामा गुरुङले ४ सय अंकमा ३६८.५ अंक हात पारेका थिए ।

दोसूो स्थानमा भारतका शरद गोपालकृष्णन भएका छन् । उनले ३ सय ५८ अंक पाएका छन् । त्यस्तै तेस्रो हुनेमा नेपालकै आदित सुवेदी र अनुस्का सुवेदी छन् । उनीहरुले समान ३ सय ५७ अंक पाएका छन् । उत्कृष्ट २० जनाभित्र नेपालका ७ जना विद्यार्थी परेका छन् ।

‘हाम्रा विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमा प्रतिश्पर्धा गर्न सक्षम रहेको यो सहभागिता र पदकले पुष्टि गर्छ,’ सापकोटाले भने, ‘नेपाली विद्यार्थी पनि अब्बल छन् भन्ने यसले देखाएको छ । त्यसबाहेक राजधानी बाहिरका विद्यार्थीमा पनि क्षमता रहेको यसले देखाउँछ ।’ सापकोटाका अनुसार चीनमा कोरोना भाइरस संक्रमणका कारण भौतिक उपस्थितिमा प्रतिश्पर्धा हुन नसकेपछि भर्चुअल माध्यमबाट प्रतिश्पर्धा भएको थियो ।

Advertisement

‘नेपाली विद्यार्थीले मुलुककै नाम उच्च बनाएका छन् । नेपालमा पनि गुणस्तरीय शिक्षा अध्यापन हुने यो सहभागिता र विद्यार्थीले जितेको अवार्डबाट पुष्टि हुन्छ,’ उनले भने, ‘उत्कृष्ट २० जनामा ७ जना नेपाली विद्यार्थी परेका छन् । यो हाम्रा लागि मात्र नभई मुलुककै लागि गर्व गर्न लायक विषय हो ।’

यसअघि सन २०२० मा सम्पन्न वल्र्ड इकोनोमिक्स कपमा पनि प्रतिभा माविकै सिमा केसीले विद्यालयलाई रजत पदक दिलाएकी थिइन् । सन २०२३ का लागि पनि वल्र्ड इकोनोमिक्स कपको पहिलो चरण को क्षेत्रीय प्रतिश्पर्धामा प्रतिभा माविकै ४ जना विद्यार्थी छनोट भइसकेका विद्यालयका निर्देशक सापकोटाले बताए ।

यसअघि प्रतिभाकै सुरती पाण्डेले पोखराबाट पहिलो पटक कक्षा १२ को बोर्ड परीक्षामा सबैभन्दा बढी अंक ल्याएर देशभरिबाटै उत्कृष्ट भएकी थिईन् ।

तपाईको प्रतिक्रिया