रामज्योति मावि ४३ औं वर्षमा प्रवेश

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को बुढीबजारमा रहेको रामज्योति माध्यामिक विद्यालय ४३ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले बुधबार विविध कार्यक्रमका साथ ४३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले आर्थिक अभावकै कारण कुनै पनि बालबालिकाहरु विद्यालय जानबाट बञ्चित हुन नपरोस् भन्दै गुणस्तरीय शिक्षाले मात्र देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा भगवती हाइड्रोपवारका निर्देशक इन्जिनियर वसन्तमोहन भटराईले किताबी ज्ञानसगै प्रविधि र व्यावहारिक शिक्षाको अवश्यकता औंल्याए । लायन्स क्लब लेखनाथका अध्यक्ष तिलकशाली सापकोटाले विद्यार्थीलाई कसरी सामाजिक क्षेत्रमा पनि समाहित गर्न सकिन्छ भन्नेबारेमा सबै जानकार हुनुपर्ने सुझाए ।
विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछानेले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराए । पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीप्रसाद सुवेदीले दुई तहको शिक्षा नीतिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक गणेशप्रसाद अधिकारी र विद्यार्थी अभिषेक विकले गरेका थिए । उक्त विद्यालयका पूर्व प्रअ सूर्यनाथ बरालले स्थापना गरेको गरिब, दलित, असाह्य र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेका थिए ।
कार्यक्रममा लक्ष्मी मा वि का सहायक प्रअ विष्णु तिवारीले मोवाइलको दुरुपयोग भइरहेको छ कि भन्ने विषयमा अभिभावकले निगरानी राख्नुपर्ने सुझाव राखेका थिए भने स्थानिय शिक्षासेवी कोमलनाथले आत्मनिर्भर शिक्षा दिने विषयमा नीति निर्माताहरुले सोच्नुपर्ने बेला भएको, निशुल्क शिक्षाको नीति हुनु तर कार्यन्वयन नहुनु दुखद भएको विषय भएको धारणा राखेका थिए ।
शैक्षिक एवं खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थिहरुलाई पुरस्कार वितरण तथा पुर्व अध्यक्षहरु, पुर्व प्रअ अक्षयकोषदाताहरु र असल अभिभावकहरुलाई सम्मान गरिएको कार्यक्रममा सल्लाहकार मन बहादुर गुरुङले शिक्षक अभिभावक र विद्यार्थी विचको पारस्परीक सम्बन्ध र समन्वयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने सुझाव राखेको कार्यक्रमको संचालन शिक्षक भोजराज बराल र सम्झना आचार्यले गरेका थिए ।
तपाईको प्रतिक्रिया