गोरखा र तनहुँमा विद्यालय बन्द

समाधान संवाददाता २०८० जेठ २८ गते ११:३०

पोखरा ।
गर्मी अर्काे भएपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ । गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ ।

Advertisement


गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगर क्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

ती सबै विद्यालय ३ दिन बन्द रहने पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले जानकारी दिए । ‘गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो’, उनले भने । मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने उनी बताउँछन् ।


‘कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन’, चिन्तन भन्छन्, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौं ।’ पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ । पालुङटार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए ।

तनहुँमा पनि विद्यालयको पठनपाठन बन्द गरिएको छ । जिल्लाको शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् । विद्यार्थीको स्वास्थ्यमा असर पर्ने अवस्था देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आँबुखैरेनीले यही जेठ २८ गतेदेखि असार १ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

Advertisement


देवघाट गाउँपालिकाले यसअघि नै विद्यालयको पठनपाठन बन्द गरेको छ । व्यास नगरपालिका भित्रका केही विद्यालयले पठनपाठन बन्द गरेका छन् । व्यास १२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीको सत्यवती, निर्मल, जलदेवीलगायत विद्यालयले पठनपाठन बन्द गरेको नगरपालिकाको शिक्षा शाखा प्रमुख नवीन पराजुलीले बताए । तनहुँको ऋषिङ, घिरिङ, भीमाद, भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा भने पठनपाठन जारी छ ।

तपाईको प्रतिक्रिया