पोखरा विश्वविद्यालय-महर्षि युनिभर्सिटीबीच सम्झौता

पोखरा ।
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेसनल युनिभर्सिटी, फेयरफिल्ड, आयोवा, अमेरिकाबीच व्यक्तिगत रूपान्तरण र वैदिक दर्शन लगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा समझदारी भएको छ ।
पोखरा विश्वविद्यालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्राडा प्रेमनारायण अर्याल र महर्षिका प्रेसिडेन्ट डा जोन हेगेलिनले हस्ताक्षर गरे । सम्झौताले आधारभूत चेतना र शिक्षा र मानव जीवनमा व्याप्त युगौं पुराना समस्या समाधान गर्न सक्रिय रूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
समझदारीपछि दुबै संस्थाले मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवर्धन गर्ने छन् । सहकारी अनुसन्धान र शिक्षणमार्फत विद्यालय शिक्षा प्रबर्धन गर्न कार्यक्रम, परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रबर्धन गर्न गतिविधि विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी र बृहत समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन, प्रशिक्षण आयोजना गर्ने, शिक्षक, विद्यार्थी र कर्मचारी आदानप्रदान र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमका लागि अन्वेषण गर्ने समझदारीमा उल्लेख छ ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा अर्याल र रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा दीपकप्रकाश बाँस्कोटा, महर्षि इन्टरनेसन युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा किंग्सले ब्रुक्स, डा. चिन्तामणि योगी र पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक डा. उमेशसिंह यादवले बोलेका थिए ।
तपाईको प्रतिक्रिया