कट्टरपन्थ उन्मूलन रणनीति बनाउँदै विश्वविद्यालयहरु

पोखरा ।
एसियाली समाजमा शैक्षिक पाठ्यक्रममार्फत कट्टरपन्थ उन्मूलन तथा समानता प्रबद्र्धनका लागि विश्वविद्यालयहरुको सहयात्रा (अरोरा) परियोजनाको पाँचौ कन्सोर्टियम बैठक पोखरामा भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा भएको बैठकमा युरोप र एसियाका १२ विश्वविद्यालयले सहभागिता जनाएका थिए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सुरुआत गरेको बैठकका विभिन्न सत्रमा पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा नमराज धामी, उपप्राध्यापकहरु डा अर्जुन थापा, अनिता दाहाल र सुवास मल्लले बोलेका थिए ।
असार ५ गते सुरु भएको बैठक ४ दिनसम्म चलेको थियो । बैठकले कट्टरपन्थ उन्मूलनका सन्दर्भमा विभिन्न विश्वविद्यालयले तयार पारेको तालिम पाठ्यक्रमको समीक्षा गरेको छ । साथै पाठ्यक्रमलाई डिजिटल प्रविधिबाट अगाडि लैजाने गरी कार्ययोजना तयार पारिएको छ ।
बैठकले सहयात्री विश्वविद्यालयले बनाएको अरोरा क्लबको सञ्जाल तयार पारी विद्यार्थीलाई समेत अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने वातावरण बनाउने निर्णय गरेको परियोजनाका पोखरा विश्वविद्यालय व्यवस्थापक टेकबहादुर क्षेत्रीले जानकारी दिए ।
सहभागीले पोखरा विश्वविद्यालयका पदाधिकारीसँग बैठकसमेत गरेका थिए ।
उनीहरुले पोखरा विश्वविद्यालयमा स्थापना भएको अरोरा क्लब भ्रमण गरी त्यसका गतिविधिबारे जानकारी लिए । सहभागीलाई अरोरा क्लब पोखरा विश्वविद्यालयका अध्यक्ष सुरजराज केशरी र उपाध्यक्ष गृष्मा अधिकारीले क्लबका गतिविधि र सिकाईबारे जानकारी दिए ।
नेपाल, भारत, स्पेन, रोमानिया, चेक गणतन्त्र र आयरल्यान्डका विश्वविद्यालयका प्राध्यापककोे टोलीले पोखरा बसाईंका क्रममा फेवाताल, बेगनास ताल, पुम्दीकोट शिव मूर्ति, विश्व शान्ति स्तूप, डेभिज फल्स, गुप्तेश्वर गुफा, सराङकोट लगायतका स्थल भ्रमणसमेत गरेका छन् ।
समारोहमा समारोहमा परियोजनाका अन्तर्राष्ट्रिय संयोजक वनस्थली विद्यापीठ भारतका डा. अजय सुरानाले बैठकका निश्कर्र्ष लागू गर्न सबै विश्वविद्यालयलाई अनुरोध गरे । मालागा विश्वविद्यालय स्पेनका जिसस देलगादोले बैठक सफल भएको र सकारात्मक विश्व निर्माणमा यसले थोरै भए पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया