त्रिशूली बस दुर्घटना: कास्कीका सुमनको सनाखत

समाधान संवाददाता २०८० भदौ ७ गते १०:३१

पोखरा ।
त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये ४ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार सनाखत भएका ४ जनामा कास्की फूलबारीका अन्दाजी २४/२५ वर्षीय सुमन थापासहित अरु ३ जना छन् ।

Advertisement


दुर्घटनामा म्याग्दीको रघुगंगा गाउँपालिका ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका ८ का अन्दाजी २४/२५ वर्षका सविन रम्तेलको सनाखत भएको हो । बाँकी ४ जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको एसपी मिश्रले जानकारी दिए ।


साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीको अनुमान छ । काठमाडौंबाट पोखरा हुँदै बेनी जान बुधबार काठमाडौंबाट छुटेको बस त्रिशूलीमा दुर्घटना भएको हो । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका २ चालिसेमा दुर्घटना भएको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।


तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ । तीमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ की २२ वर्षीया अञ्जु रानामगर, म्याग्दीको रघुगंगा गाउँपालिका ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप ३ जना छन् ।


काठमाडौं रिफर गरिएका घाइतेमा पर्वतको मोदी गाउँपालिका १ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका ६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका ३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका ९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ र म्याग्दीको मंगला गाउँपालिका २ का १६ वर्षीया गीता जग्जाली छन् ।

Advertisement


बागलुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको छ ।

दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङलाई उद्धार गरी प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी सोधपुछ भइरहेको छ ।

तपाईको प्रतिक्रिया