सरस्वती टीका माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८० भदौ १८ गते ११:३३

पोखरा ।
पोखरा ३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सव शनिबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षाको गुणस्तरी अभिवृद्धिका लागि महानगर प्रतिवद्ध रहेको जनाए । उनले सरस्वती टीका माध्यमिक विद्यालयको प्राविधिक धारलाई नजिकैको अर्को विद्यालय मर्ज गरी त्यसैमा चलाउन सुझाव दिए ।

Advertisement


पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीले शिक्षामा सबैको पहुँच स्थापित भइसकेको अवस्थामा राज्यको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्ने शिक्षाको विकल्प नभएको जनाए । विद्यालयका प्रधानाध्यापक सूर्यराज अधिकारीले विद्यालयका गतिविधि र भावी योजना प्रस्तुत गरे ।


कार्यक्रममा पत्रकार जगन्नाथ पौडेल (गणेश)को स्मृतिमा परिवारको तर्फबाट ५० हजार रुपैयाँको अक्षयकोष, पूर्व होमनाथ आचार्यले आफ्ना आमाबुवा र सासूससुराको स्मृतिमा १ लाखको अक्षयकोष घोषणा गरियो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालुप्रसाद पराजुलीको अध्यक्ष्यतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष गणेशप्रसाद ढकालले समयको माग एवं अभिभावकको अपेक्षा अनुरुप अघि बढ्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार यज्ञप्रसाद अधिकारीले दक्ष जनशक्ति तयार गर्ने किसिमको गुणस्तरीय शिक्षामा जोड दिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीबाट नृत्यसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न कक्षामा उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया