मन्टेसरी बाल प्रतिभा प्रस्फुटन

समाधान संवाददाता २०८० असोज २२ गते १४:०३

पोखरा ।
पोखरामा साना साना बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम मन्टेसरी चाइल्ड ट्यालेन्ट शो सम्पन्न भएको छ । मन्टेसरी एसोसिएसन कास्कीको आयोजनामा भएको कार्यक्रममा ३२ मन्टेसरी स्कुलबाट ४ सय ४० विद्यार्थीले भाग लिएका थिए । विद्यार्थीहरुले राष्ट्रभक्ती, लोकसंस्कृति, प्रकृति, योग थिमका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

Advertisement


पोखरा सभागृह हलमा सम्पन्न कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले भविष्यका कर्णधार साना साना बालबालिकालाई आफ्नो भाषा, भेषभुषा र संस्कृतिका बारेमा पनि जानकारी दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । उनले किताबी ज्ञानले मात्रै विद्यार्थीको शिक्षा पुर्ण नहुने बताउँदै शिक्षण पद्दति र सिकाइले पनि बाल मानसिकतामा फरक पर्ने हुनाले सोही मुताविकको सिकाइ हुनपर्ने बताइन् ।


मन्टेसरी चाइल्ड केयर गर्ने संस्था मात्रै नभई शिक्षा दिने संस्था पनि भएको सन्देश प्रवाहका लागि ट्यालेन्ट शोको आयोजना गरिएको एसोसिएसन कास्कीका अध्यक्ष शाल्भी बास्तोला मर्सानीले बताइन् । संस्थापक अध्यक्ष अरुणा शेरचनले साना बालबालिकाहरुमा पनि प्रतिभा हुन्छ भन्ने महसुस गराउन पनि कार्यक्रम आयोजना गरिएको बताइन् ।


कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष अरुणा शेरचन, अध्यक्ष शाल्भी बास्तोला मर्सानी, उपाध्यक्ष सावित्री थापा मोक्तान, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानकी पराजुली, कार्यक्रम संयोजक रीता पौडेल, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायतले बालबालिकाहरुको आत्मविश्वास र अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि यस्तो खालका कार्यक्रमको आवश्यकताका बारेमा बोलेका थिए ।


ट्यालेन्ट शोमा सहभागी ३२ स्कुलका ४ सय ४० बालबालिकालाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो । एउटा नृत्यमा बढीमा १६ जना बालबालिकाले प्रस्तुति राखेको उक्त कार्यक्रममा दशैंका नवदुर्गा, गणेश प्रार्थना, कौरा नृत्य, विभिन्न जातजातीका भेषभुषा सहितको नृत्य, सेभ द टाइगर थिमको नृत्य, योगासन आदि प्रदर्शन गरिएको थियो । संस्थाका अध्यक्ष शाल्भी बास्तोला मर्सानीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जर्नादन सुवेदी, संयोजक रीता पौडेल र सञ्चारकर्मी सन्जय मल्लले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया