एसओएस स्कुलमा विज्ञान प्रदर्शनी

समाधान संवाददाता २०८० मंसिर १८ गते १५:२३

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा विज्ञान प्रदर्शनी भएको छ । विद्यालयमा प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबले आयोजना गरेका हुन् ।

Advertisement


विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । विद्यार्थीले आफ्ना प्रदर्शनीलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो ।


भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान र अन्तरिक्ष विज्ञानका विभिन्न वैज्ञानिक सिद्धान्तमा आधारित चाप, गति, बल, शक्ति, सौर्यऊर्जा, विद्युत्, चुम्बक, प्रकाश, ध्वनि, पर्यावरण, अन्तरिक्ष, सुरक्षा संवेदनशीलता, जैविक विविधता, हरित सहर, जल प्रशोधन प्रक्रिया, थोपा सिँचाइ, विभिन्न यान्त्रिक उपकरणको उपयोगिता लगायतका पक्ष प्रदर्शनीमा समावेश थिए ।


उनीहरुले झन्डै २ महिना लगाएर परियोजना तयार पारेका थिए पोखराका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र आगन्तुकले समेत प्रदर्शनी अवलोकन गरेका छन् । विद्यार्थीको एकल, युगल र सामूहिक प्रस्तुति रहेको प्रदर्शनीमा ७० स्टल छन् ।


आधारभूत र माध्यमिक तह गरी २ समूहमा आयोजित प्रदर्शनी माध्यमिक तहमा पनि कक्षा ९ र १० तथा ११ र १२ का विद्यार्थीले छुट्टाछुट्टै थियो । विद्यार्थीद्वारा प्रस्तुत गरिएका परियोजनामूलक स्टलको मूल्यांकन गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पसका उपप्राध्यापक दीपेश कार्की तथा गण्डकी बोर्डिङ स्कुलका विज्ञान शिक्षक लक्ष्मीनन्द ढकालले गरेका थिए ।

Advertisement


प्रदर्शनीमा आधारभूत तहतर्फ संयम सुवेदी प्रथम, नेरिन बराल र स्मारिका न्यौपाने द्वितीय बने । मोहम्मद अनिशले तृतीय तथा सरगम सुवेदीले सान्त्वना स्थान हासिल गरे । माध्यमिक तह अन्तर्गत कक्षा ९ र १० मा विशाल मरासिनीको समूहले प्रथम, मञ्जुश्री अधिकारीको समूह द्वितीय, युगल पुनको समूह तृतीय तथा अनन्त आचार्यको समूह सान्त्वना बनेका छन् ।


कक्षा ११ र १२ मा राजीव रोका प्रथम, समीप रेग्मी द्वितीय, रोजी घिमिरे तृतीय तथा भुवन अर्याल र सुयोग कोइरालाले सान्त्वना स्थान हासिल गरे । आधारभूत तहतर्फ आज्ञा शर्मा र सयुजा रिजाल, माध्यमिक तहतर्फ कक्षा ९–१० मा ईशानेश्वर बाँस्तोलाको समूह र कक्षा ११–१२ प्रणय पौडेलको समूहले उत्कृष्ट प्रयत्नकर्ताको पुरस्कार पाए ।


उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई प्रधानाध्यापक चूडामणि सुवेदी तथा प्रदर्शनीका निर्णायकहरूले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । विज्ञानका सैद्धान्तिक कुरालाई प्रायोगिक विधिबाट सिकाउने वातावरण सिर्जना गर्न र वास्तविक जीवनमा तिनीहरूको उपयोगिताका बुझाउन एसओएसले प्रदर्शनी आयोजना गरेको विद्यालयका प्रधानाध्यापक सुवेदीले बताए ।


नेपाल भौतिक शास्त्र समाज गण्डकी प्रदेशका अध्यक्ष डा. कृष्णराज अधिकारीले विद्यार्थीमा सिर्जनशीलता, नवप्रवर्तनकारी सोचका साथै आत्मविश्वासको विकासका लागि यस्ता प्रदर्शनी सहायक हुने उल्लेख गरे । समारोहमा एसओएस स्कुल गण्डकीका रसायनशास्त्रका शिक्षक प्रमोद बराल र विज्ञान प्रदर्शनी २०८० का संयोजक मिलन खत्रीले पनि बोलेका थिए ।


समारोहमा एसओएस युवालय गण्डकी निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइ अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डे लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया