पाण्डवखानी माविले मनायो हिरक जयन्ती

पोखरा ।
गलकोट १० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालय स्थापनाको ६० औं वर्ष पूरा भएको छ । विद्यालयले सोमबार स्थापना दिवसका साथै विभिन्न कार्यक्रमको आयोजना गरी हीरक जयन्ती मनाएको हो ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक नरबहादुर सुनारले बताए । कार्यक्रमले विद्यालय के कस्तो अवस्थामा रहेको छ भनेर चित्रांकन गरेको उनको भनाइ छ ।
‘धेरै कुरामा सुधार ल्याउनुपर्ने आवश्यक छ, गर्न चाहेको कुरा समेत गर्न सकिएको छैन’, उनले भने, अब परिवर्तनशिल भएर पढ्ने तथा पढाउने तरिकामा परिवर्तल ल्याउनुपर्छ, नयाँ शैक्षिक नीति ल्याउने तयारी छ ।’
कार्यक्रमलाई सहयोग पुर्याएका सबैलाई धन्यवाद दिँदै प्रध्यानाध्यापक सुनारले शैक्षिक गुणस्तरमा सुधार ल्याई विद्यालयलाई अब्बल बनाउने प्रतिवद्ध गरे ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए भने गण्डकी प्रदेश सभा सदस्य देवेन्द्र पौडेल, गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरको पनि उपस्थिति थियो ।
कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर, भवनदाता, छात्रवृत्तिदाता, महोत्सवमा सहयोग गर्ने एवं पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । कलाकार मनोज गजुरेल, देवी घर्ती, नविन राना, लक्ष्मी भुजेलले साँगीतिक प्रस्तुती राखेका थिए भने लोक सँस्कृतिको उत्थान गर्न सोरठी, यानीमाया, ठाडोभाका र घाँटुनाच देखाइएको थियो ।
कार्यक्रममा अन्तर विद्यालय स्तरीय अंग्रजी हिज्जे, हाजीरिजवाफ, वक्तृत्वकला, गणित दौड प्रतियोगिता, पूर्वविद्यार्थीबीच ब्याडमिन्टन प्रतियोगिता, अभिभावकबीच कुर्ची दौड र बोरा दौड प्रतियोगिता पनि भएको थियो ।
२०१८ सालमा स्थापना भएको विद्यालय गत वर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै गलकोट नगरपालिकामा दोस्रो बन्न सफल भएको छ । हाल विद्यालयमा करिव ३०० जना विद्यार्थी अध्ययनरत रहेका छन् भने २० जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् ।
विद्यालयले गुणस्तरीय शिक्षालाई पहिलो प्राथामिकतामा राख्दै कक्षा ११ र १२ मा व्यवस्थापन तथा शिक्षा संकायमा कक्षा सञ्चालन गरिरहेको छ । आवासीय सुविधा सहित प्राविधिक शिक्षा सञ्चालन गर्ने तथा स्नातक तह सञ्चालन गर्ने योजना रहेको प्रध्यानाध्यापक सुनारले बताए ।
तपाईको प्रतिक्रिया