५ लाख राशिको ‘हीराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’

समाधान संवाददाता २०८० पुष ९ गते १३:४३

म्याग्दी ।

Advertisement

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ अर्थुंगेस्थित जामुनाखर्क माविमा ५ लाख रुपैयाँ राशिको ‘हीराबहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ ।


बेनी नगरपालिका ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हीराबहादुर बानियाँको स्मृतिमा उनका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले ५ लाखको छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।


शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ५ लाखको रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्दै विधिवत रुपमा कोष स्थापना भएको घोषणा गरे ।


छात्रवृत्ति कोष स्थापना कार्यक्रममा बोल्दै पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले शिक्षामा लगानी बढाउनुपर्ने बताए । कोषका संस्थापक संरक्षक किरण बानियाँले वुवाको शिक्षाको क्षेत्रमा सेवा गर्ने चाहनालाई पूरा गर्न कोष स्थापना गरेको बताए । ५ लाखबाट सुरु गरिएको कोषलाई वृद्धि गर्दै २५ लाख पुराउने लक्ष रहेको पनि उनले सुनाए । वार्षिक ब्याजबाट ६० प्रतिशत छात्रवृत्ति वितरण गर्ने र ४० प्रतिशत रकम कोषमा नै थप गर्दै लगिने उनले बताए ।

Advertisement


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगानाले विद्यालयका पूर्व शिक्षक अभिभावक संघ सदस्य समेत रहेका स्व. हीराबहादुर बानियाँको सामाजिक योगदानको चर्चा गरे ।


कार्यक्रममा बानियाँ परिवारले ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरेका थियो । विद्यालयका ११४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई २ लाख ५० हजार बराबरको न्यानोकपडा, झोला, ट्रयाक, जुत्ता लगायतका विद्यालय पोसाक तथा शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको कोषका संस्थापक संरक्षक किरण बानियाँले जानकारी दिए ।


कार्यक्रममा नेकपा एमालेका अध्यक्ष देवेन्द्र कटुवाल, बेनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमाल, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकाल लगायतले मन्तव्य गरे ।

तपाईको प्रतिक्रिया