वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

समाधान संवाददाता २०८० पुष २० गते ८:२६

दुलेगौंडा ।
कास्की नेत्रहीन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपांगता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो ।

Advertisement


पोखराको वगरमा बिहीबार आयोजित खुला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्वितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र विक सान्त्वना हुन सफल भए ।


प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाण पाए । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे ।


त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण सुरुमा घर परिवारबाटै सकरात्मक हुनुपर्नेमा जोड दिए । उनले सरकारले सरोकारवालासँग नियमति छलफल गरिएको जानकारी दिए । कास्की नेत्रहीन संघका अध्यक्ष सापकोटाले आगामी वर्ष प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले कास्की नेत्रहीन संघको भवनमा रहने गरी प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे ।


संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनीता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका १३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए ।

Advertisement


प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी, राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहीन कल्याण संघ र नेपाल नेत्रहीन संघको स्थापनापछि नेपालमा ब्रेल दिवस मनाउन थालिएको हो ।

तपाईको प्रतिक्रिया