कर विवादपछि जनप्रतिनिधिलाई तालिम

पोखरा ।
पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सोसँग सम्बन्धित विषयक २ दिवसीय क्षमता विकास तालिम सुरु भएको छ । सोमबारदेखि सुरु भएको तालिम मंगलबारसम्म चल्नेछ ।
पोखरा महानगरको नगरसभाले गत साउनमा पास गरेको करको दरबारे विवाद भएपछि अहिले तालिम आयोजना गरिएको हो । नगरसभाले पास गरेको करको दर अहिले जनप्रतिनिधिले नै विरोध गरेपछि घटाउन कार्यदल बनेको छ ।
पोखरा महानगरपालिकाद्वारा आयोजित तालिममा मेयर धनराज आचार्यले तालिममार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ का सम्बन्धमा अन्योल र दुविधा रहेका विषयमा स्पष्ट हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । ‘ऐनमा एक खालको व्यवस्था गरिएको छ, त्यसको मर्म र भावना बुझ्न नसक्दा कार्य सम्पादनमा समस्या आएका छन्,’ आचार्यले भने, ‘यो तालिममार्फत तपाईँ हामी सबैलाई यसका अस्पष्टता अन्त्य गर्न सहयोग पुग्नेछ ।’
उपमेयर मञ्जुदेवी गुरुङले अधिकार र कर्तव्यका बारेमा तालिमले थप सुसूचित गर्ने बताइन् । उनले यस्ता तालिमलाई आपसमा अनुभव आदानप्रदानसहित नयाँ कुरासमेत सिक्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सम्बन्धित विषयका बारेमा ज्ञान हासिल गर्ने, संघीय शासन प्रणालीमा तहगत अन्तरसम्बन्धबारे जानकारी दिने, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको काम, कर्तव्य र अधिकार सूची तयार गरी वडा समितिका काम, कर्तव्य र अधिकारबारे प्रस्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको सुनाए ।
योजनाको अवधारणा, प्रकार, चरण, वडा स्तरमा गरिने योजना तर्जुमाको प्रक्रिया अवलम्बन, स्थानीय तहको वार्षिक बजेट तथा वित्त व्यवस्थापन, स्थानीय तहमा न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्र, स्थानीय तहमा सूचनाको हकको महŒव लगायतका विषयमा जानकारी दिन तालिम उपयोगी हुने उनको भनाइ छ ।
तालिममा नेपाल सरकारका पूर्व सचिव एवं कानुनविद् काशीराज दाहाल र स्थानीय शासन विज्ञ डा सीता ढुंगानाले प्रशिक्षण दिने छन् । तालिममा वित्त व्यवस्थापनमा विषयमा महानगरको वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेल र नागरिकता तथा राष्ट्रिय परिचयपत्र सिफारिस सम्बन्धमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सहजीकरण गर्ने छन् ।
तालिमको पहिलो चरणमा ११ वडाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारीको सहभागिता छ । दोस्रो चरण थप ११ वडाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारीका लागि माघ १९ र २० गते तथा तेस्रो चरण बाँकी ११ वडाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारीहरूका लागि माघ २१ र २२ गते तालिम सञ्चालन हुनेछ ।
तपाईको प्रतिक्रिया