कास्कीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

समाधान संवाददाता २०८० माघ १४ गते १०:३१

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले स्थानीय तहका जनप्रतिनिधिलाई शनिबार प्रशिक्षण दिएको छ । एमालेबाट निर्वाचित भएका कास्कीका पालिकाका उपमेयर, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिकाका सदस्यको सहभागिता रहेको कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक अवस्था र जनप्रतिनिधिको भूमिकाबारे प्रशिक्षण दिए ।

Advertisement


महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी र व्यवस्थित रुपमा काम गरेको खण्डमा एमालेलाई राष्ट्रिय शक्ति बनाउन सकिने बताए । संघ प्रदेश सरकारमा पार्टीको उपस्थिति नहुँदा थप चुनौती थपिएको उल्लेख गर्दै उनले जनपक्षीय काम गरेर पार्टीको उपस्थिति देखाउन जनप्रतिनिधिलाई निर्देशन दिए । उनले जनमतको हिसाबले पहिलो तथा जनताबाट रुचाइएको पार्टी शासनको महत्वपूर्ण स्थानमा नभएको चर्चा गरे ।


संघ सरकारले स्थानीय तहलाई दिने विभिन्न अनुदान तथा बजेट कटौती गरेको उल्लेख गर्दै उनले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने कार्यलाई भण्डाफोर गर्न आग्रह गरे । ‘स्थानीय तहको हकमा सरकारको रुपमा जनप्रतिनिधि हुनुहुन्छ । वडा सरकार र पालिका तहको सरकारको रुपमा काम गर्नु भएको छ,’ महासचिव पोखरेलले भने, ‘एमालेको सरकार तपाई जनप्रतिनिधि हो । जनप्रतिनिधिको काम प्रभावकारी भए एमालेलाई राष्ट्रिय शक्ति बनाउन सकिन्छ ।’


उनले जनताले एमाले खोज्ने ठाउँमा स्थानीय तहको जनप्रतिनिधि भएको चर्चा गरे । अरुले भन्दा फरक ढंगले काम गर्न सुझाव दिँदै उनले जनप्रतिनिधिले प्रभावकारी ढंगले काम गरे पार्टी सफल हुने विश्वास व्यक्त गरे । सचेत र संगठित भए जनकार्यमा सफल बन्न सकिने चर्चा गर्दै महासचिव पोखरेलले योजनाबद्ध ढंगले जनप्रतिनिधिले गरेका कामलाई जनतासँग जोड्न सुझाव दिए ।


उनले जनतालाई साथमा लिएर गरेको कामबाट पार्टीको प्रभाव विस्तार हुने उल्लेख गरे । पार्टी र जनप्रतिनिधि बीचमा मनोवैज्ञानिक समस्या रहेको जानकारी दिदै उनले पार्टी र जनप्रतिनिधि बीचमा सयन्त्र बनाएर सामूहिक र संस्थागत काम गर्न आग्रह गरे । पोखरेलले जनप्रतिनिधिले गरेका कामलाई पार्टीले संस्थागत संरचनामा ढाल्ने उल्लेख गरे ।

Advertisement

उनले पालिका सभादल बनाएमा जनप्रतिनिधि बीच रहेका असमझदारीलाई हटाएर प्रभावकारी काम गर्न सकिने तर्क गरे । पालिकाको समग्र विकासको सोंच र रणनीति बनाएर काम गर्न सुझाव दिँदै महासचिव पोखरेलले संघ, प्रदेश र स्थानीय तहको योजना एकिन गरी काम गर्न अनुरोध गरे ।


स्थायी समितिका सदस्य खगराज अधिकारीले पार्टी र जनप्रतिनिधिको अन्तर सम्बन्ध, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले स्थानीय तहको कार्यक्षेत्र योजना तथा बजेट तर्जुमा र सम्भावित नमुना कार्यक्रम र योजनाको विषयमा प्रशिक्षण दिएको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।


कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी देवकोटा र माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टेकनाथ गौतमले कार्य प्रगति विवरण र असल अभ्यास प्रस्तुति गरेका थिए ।


कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्य थममाया थापा, पोलिटब्युरो सदस्य जगतबहादुर विक, जिल्ला जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, उपाध्यक्ष तेजनारायण अधिकारी र सचिव बैनबहादुर अधिकारी क्षत्रीले समसामयिक राजनीति, पार्टी र जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया