करुणानिधि माविको वार्षिकोत्सव

पोखरा ।
करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालय, सिम्पानीको शनिबार सुरु ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ । पोखराकी उपमेयर मञ्जुदेवी गुरुङको प्रमुख आतित्थतामा वार्षिकोत्सव समापन समारोह भएको थियो ।
वार्षिकोत्सवको अन्तिम तथा दोस्रो दिन कक्षा नर्सरीदेखि २ सम्मका विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए । संघसंस्थाको तर्फबाट वसन्त बास्तोला र कलाकार कृष्णप्रसाद गौतमलाई आइतबार सम्मान गरिएको थियो । उपमेयर गुरुङले उनीहरुलाई सम्मान अर्पण गरिन् ।
शनिबार शिक्षासेवी जोर्ज जोनले वार्षिकोत्सव शुभारम्भ गरेका थिए । जोनले विद्यालयले विभिन्न कोणबाट तीव्र गतिमा प्रगति गरिरहेको बताएका थिए । उनले लगनशील विद्यार्थीको भविष्य उज्ज्वल रहेको औंल्याएका थिए । विद्यालयका अतिरिक्त क्रियाकलापमा भाग लिन विद्यार्थीलाई आग्रह गर्दै शिक्षासेवी जोनले विद्यालय स्थापनाको स्मरण पनि गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएकोमा विद्यालयको प्रशंसा गर्दै दुखी तथा गरिबको पक्षमा विद्यालय रहेको आफूले पाएको बताए ।
त्यस अवसरमा संस्थापक प्राचार्य लोकराज भण्डारी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्ष उमा लामिछाने, विद्यालय अध्यक्ष रामचन्द्र पौडेल, भूपू विद्यार्थी मञ्चका कोषाध्यक्ष मदन पोखरेल लगायतले पनि बोलेका थिए ।
प्रधानाध्यापक डिल्लीराम अधिकारीले सबैको साथ सहयोगबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै विद्यालयमा उल्लेखनीय सफलता हासिल हुँदै गएको औंल्याए ।
दीर्घसेवा पदकबाट कर्मचारी सुन्दरकली थारु तथा मानबहादुर थारु, नियमित शिक्षकबाट तिलकुमारी आचार्य पुरस्कृत भए ।
विद्यार्थीले शास्त्रीय गीत, कविता, नाटक, नृत्य, कराते लगायतका प्रस्तुति राखे । शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गर्नुका साथै विज्ञान तथा शैक्षिक सामग्रीसमेत प्रदर्शनी गरिएको थियो । कार्यक्रमबीच सिम्पानी टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर गुरुङ, स्थानीय समाजसेवीसमेत रहेका पूर्व सहसचिव शिवप्रसाद पराजुली र पत्रकार श्रीभद्र पौडेल लगायतलाई सम्मान गरियो ।
विद्यालय अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी खुसी दाहाल, अमृत पौडेल र अविनाश गायकले स्वागत तथा शिक्षक भानुभक्त पोखरेलले कार्यक्रम सञ्चालन गरे ।
तपाईको प्रतिक्रिया