दुव्र्यसनी र महिला हिंसा रोक्न गम्भीर छौँः गृहमन्त्री श्रेष्ठ

समाधान संवाददाता २०८० माघ २१ गते १५:११

पोखरा ।
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागुऔषधलाई सामाजिक समस्याको संज्ञा दिएका छन् । उनले यी समस्या निर्मूल पार्न सरकार गम्भीर रहेको जनाए ।

Advertisement


नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा शनिबार भएको कार्यक्रममा मन्त्री श्रेष्ठले समाजमा लागुऔषध प्रयोग बन्द गर्न लागुऔषधको असर र समस्यासम्बन्धी शिक्षा प्रदान गर्नुपर्ने धारणा राखे । ‘कानुनको बर्खिलाप लागुऔषध दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिच्किचावट कानुनी कारबाही गर्नुपर्छ,’ उनी भन्छन् ।


कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनाल लगायत सहभागी थिए ।


सो अवसरमा कास्कीमा लागुऔषध दुव्र्यसनी तथा लैंगिक हिंसाको तथ्याङ्क प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रस्तुत गरे । विकले कास्कीका लागुऔषधको दुव्र्यसनी र कारोबार बढ्दै गएको र सानै उमेरका युवासमेत यसमा संलग्न रहेको तथ्यांक प्रस्तुत गरे ।


पोखरा थियटरको तर्फबाट जनचेतनामूलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फबाट जनचेतनामुलक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । शनिबारै गृहमन्त्री श्रेष्ठले गण्डकी प्रदेश प्रहरी कार्यालय निरीक्षण गरे । उनले सरकारको प्रत्यक्ष उपस्थिति नै प्रहरी भएको जनाउँदै भने, ‘संविधानको रक्षा, पालना तथा नागरिकको जीवन रक्षाका लागि दत्तचित्त हुनुहोस् ।’

Advertisement

तपाईको प्रतिक्रिया