शिशुकल्याण माविकाे वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरका मेयर धनराज आचार्यले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
महानगरपालिका वडा नं ३३ भरतपोखरीको शिशुकल्याण माध्यमिक विद्यालयको आफ्नो ४६ औं वार्षिकोत्सव एवं ४७ औं अभिभावक दिवसको प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा बोल्दै उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिए । गुरुहरुले शतप्रतिशत ज्ञान हस्तान्तरण गर्न उनले सुझाव दिए ।
भरतपोखरीको विकास आफ्नो कर्तव्य हो भन्दै मेयर आचार्यले आफूले सक्दो गरिरहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ वडा अध्यक्ष रामचन्द्र अधिकारीले शिक्षा क्षेत्रमा सरकारको राम्रै लगानी रहेको बताउँदै त्यसको प्रतिफल आउने गरी गुणस्तरीयता अभिवृद्धि गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले दिगो र सार्थक विकासका लागि विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना जगाउने किसिमले शिक्षण सिकाइमा जोड दिनुुपर्ने बताए । शान्ति उदय माविका प्रअ टेकनारायण गिरीले अभिभावकको जागरुकतामा जोड दिँदै अभिभावकले विद्यालय तथा शिक्षकलाई समय समयमा घचघच्याउन सकेमा त्यसले शैक्षिक संस्था राम्रो बन्न सघाउने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र बरालले स्वागत गर्दै विद्यालय स्थापनादेखि हालसम्म आउँदाका भोगाइ तथा अनुुभवको स्मरण गर्दै समयसापेक्ष शिक्षाका लागि सबैको सहयोगको अपेक्षा गरेका थिए ।
पूर्वप्रअ जगदीश सुबेदीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक सुदन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समितिका सल्लाहकार डिल्लीराम बराल,रास्वपा केन्द्रीय प्रशिक्षण विभागका सदस्य नेता माधवप्रसाद कँडेल, समाजसेवी पीताम्बर पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । वर्षका उत्कृष्ट छात्रछात्रालाई पुरस्कार तथा कक्षा १२ मा कास्कीमै ३.७१ जिपिए ल्याई राम्रो गरेका भागवत चौधरीलाई सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया